ललितपुर । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको १०० प्रतिशत स्वामित्वमा स्थापित रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले आफ्नो संस्थागत विस्तार तथा नेतृत्व सुदृढीकरणसँगै आगामी योजनाहरू अघि बढाउने तयारी गरेको छ। कम्पनी ऐन, २०६३ बमोजिम २०७८ असोज १० गते पब्लिक कम्पनीका रूपमा दर्ता भएको यस क्यापिटलले धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरका सम्पूर्ण कार्य गर्ने स्वीकृति २०७९, २०८० र २०८२ मा क्रमशः प्राप्त गरिसकेको छ।
हाल कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन तथा सामूहिक लगानी कोष अन्तर्गत योजना व्यवस्थापन र डिपोजिटरी सेवा जस्ता विविध मर्चेन्ट बैंकिङ कार्य सञ्चालन गर्दै आएको छ।
यसैबीच, धितोपत्र तथा बैंकिङ क्षेत्रको ३ दशकभन्दा बढी अनुभव भएका भिष्म राज चालिसे २०८२ भदौ २७ गतेदेखि ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएका छन्। उनले जिम्मेवारी सम्हालेसँगै संस्थालाई अनुभवी नेतृत्व, दक्ष व्यवस्थापन, प्रचलित कानुन तथा नियामक निर्देशनअनुसार नवीनतम प्रविधिको उपयोग गर्दै अझ उच्च स्तरमा पुर्याउने लक्ष्य रहेको जानकारी दिएका छन्।
यस्तै, कम्पनीले मिति २०८२ मंसिर १२ गते आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभामा विधि अनुसारका एजेन्डा तथा आगामी वर्षका योजना प्रस्तुत गर्दै पारित गरिएका छन्।


















फेसबुकबाट तपाईको प्रतिक्रिया