विजनेसपाटी डेस्क ।
ललितपुर । मङ्गलवार तोकिएको निर्वाचन कार्य तालिकाको मतदानको समय सम्म सर्वसहमतीमा नेतृत्व चयन नभएमा नेकपा एमालेको ११ औ महाधिवेशनमा दुई प्यानलबिच नै प्रतिस्पर्धा हुने भएको छ । संस्थापन पक्षको नेतृत्व गर्दै केपी शर्मा ओलीको प्यानलले उम्मेदवारी दर्ता गराएको छ भने इतर पक्षको नेतृत्व गर्दै ईश्वर पोख्रेलको प्यानलले उम्मेदवारी गर्दा गराएको छ ।
तेश्रो कार्यकालका लागि जसरी पनि नेतृत्व आफैले गर्ने गरी आफू अनुकूल प्रतिनिधि चयन देखि आफ्ना गुटका आकाङ्क्षीहरूलाई पदाधिकारीमा सेटल गराउन विधान महाधिवेशनले तीन महिना अघि पारित गरेको विधान समेत संशोधन गराइ आफू अनुकूल निर्णय गराएका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकट रहेकालाई समेत चित्त बुझाउन सकेनन् ।
आकाङ्क्षी मध्य केपीका अति निकट रहेका महासचिवका दाबेदार प्रदीप ज्ञवाली त चाहेको पदमा उम्मेदवारी दिन रोकिएपछि रुँदै केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दिएर निस्केको खबर सार्वजनिक भएको छ ।
ओली समूहबाट शङ्कर पोखरेल महासचिव बन्ने निर्णय भएपछि यसअघिका उपमहासचिव ज्ञवाली रुष्ट एका हुन् । ओलीले शंकरलाई नै महासचिव दोहो¥याएर आफूलाई उपाध्यक्ष बनाएपछि ज्ञवाली रुष्ट हुँदै मनोनयन दर्ता स्थलबाटै बाहिरिएका थिए।
त्यसै गरी सचिव पदका आकाङ्क्षी कृष्ण गोपाल श्रेष्ठ जसले ओलीलाई फुटबलको पेले जस्तै भनेर अन्ध समर्थन गर्थे उनले समेत ओलीको व्यवहारिक पक्षबाट आजित भएको भन्दै गुट परिवर्तन गरेका छन् । उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समेत पार्टीमा नअटाउने बनाउने ओलीको व्यवहारलाई प्रश्न गर्दै भनेका छन् यो भन्दा अपराध र क्रूरता के हुन्छ ?यो महाधिवेशनमा ओलीकै गुटका कतिपय आकाङ्क्षीहरू ओलीले बनाएको मनोनयनको लिस्ट प्रति नै असन्तुष्टि देखिए । उनीहरूले लिष्टमा राखिएको भन्दा फरक पदमा उम्मेदवारी दर्ता गराएका छन् । कतिपयले आफ्नो उम्मेदवारी दुवै गुटबाट नभएर स्वतन्त्र भएको बताएका छन् भने गुटको प्रश्न गर्दा पोखरेल समूह बाट सचिवमा उम्मेदवारी दिएका गोकुल बास्कोटाले उनकै शैलीमा आफू एमाले गुटको उम्मेदवार भनेका छन् ।
जेन–जी आन्दोलन पश्चात् सत्ता च्युत भएर रक्षात्मक अवस्थामा पुगेको यो पार्टीको नेतृत्वमा आत्मरति र अहङ्कार रत्ती घटेको छैन बरु बढ्दो छ । पार्टी भित्र नेतृत्वको कार्यशैलीको आलोचना नेतृत्व परिवर्तनको माग पछिल्लो समय जोडतोडले उठे पनि महाधिवेशनबाट देखाइदिने भन्ने ओली पक्षधरको चाहनालाई पछिल्लो आन्तरिक अन्तरसंघर्ष र चुनावी सरगर्मीले वातावरण सहज र अनुकूल नदेखिए पछि होला ओली पक्षले इतर पक्षलाई फकाउने मात्र हैन धम्क्याउने शैली पनि प्रयोग गर्न थालेको छ । ओलीका विरुद्ध पार्टी बाहिर पूर्व राष्ट्रपति विद्या भण्डारी र उनको समर्थनमा ईश्वर पोखरेलको नेतृत्वमा बलियो नेतृत्वपंक्ति र ओली गुट त्यागेर पोख्रेल गुटबाट उम्मेदवारी दिन थाले पछि यस्तो शैली पनि देखिन थालेको छ ।
ओलीको अति निकटका सूर्य थापाले ओलीले कन्फर्म जित्ने दाबी गर्दै पोखरेल पक्षमा खुल्दै गरेकालाई खुट्टा उचालेर भड्खालोमा हाल्न आमन्त्रित गरेको आरोप सहित त्यतातिर सचेत हुनु पर्ने भनाई सार्वजनिक गरेका छन् । जेनजी उथलपुथलले तत्कालीन प्रधानमन्त्रीका रूपमा उनलाई र उनको पार्टीलाई चौतर्फी निसानामा पारिदिएको छ । दशौँ महाधिवेशन सम्म पार्टीभित्र चुनौतीविहीन अवस्थामा रहेका ओली एघारौँमा आई पुग्दा रक्षात्मक मात्र हैन सकसपूर्ण प्रतिस्पर्धामा छन् । एमालेको ११ औ महाधिवेशनबाट चयन हुने नेतृत्वको प्रतीक्षा रोचक त हुने तर अपेक्षा रहित हुने राजनीतिक जानकारहरूको भनाई छ । यसैबिच एमालेको ११औँ महाधिवेशनको कार्य तालिकामा सामान्य हेरफेर भएको छ ।
निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी दर्ताको समय सकिएको छ भने राति साढे ८ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्य तालिका छ । मतदान भोलि हुनेछ । यसअघि भोलि बिहान ११ बजेदेखि ५ बजेसम्मका लागि मतदानको तय भएको थियो । यसमा संशोधन गरेर मतदानको समय मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म तय गरिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया