ललितपुर । नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले आफ्ना मागहरू सुनुवाइ नभएको भन्दै सातबुँदे माग सहित नेपाल बीमा प्राधिकरणबिरुद्ध हड्तालमा उत्रिएका छन् । पुस १ गते मंगलबारदेखि दैनिक काममा प्रभावित नपार्ने गरी कर्मचारीहरुले कालोपट्टी बाधेर काम गर्ने सुरु गरेका छन् । उनिहरुले आफ्ना मागका बारेमा एक साता अघि नै ध्यानाकर्षण समेत गराएका थिए ।
मंगलबार युनियन र कर्मचारी संघका अध्यक्षले प्राधिकरणका अध्यक्षलाई पत्र लेख्दै आन्दोलन सुरु गरिएको औपचारिक जानकारी गराउदै अबका चार दिनसम्म कर्मचारीहरूले कालोपट्टी बाँधेर काम गर्ने बताएका छन् । त्यसपछि पनि माग पूरा नभए कार्यालय परिसरमै कालो ब्यानर टाँस्ने र हालसम्मको उपलब्धिको समीक्षा गर्दै आगामी आन्दोलनका कार्यक्रम तय गरिने पत्रमा उल्लेख गरिएको छ ।
कर्मचारीहरूले माग सम्बोधन नभएसम्म चरणबद्ध रूपमा आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् । कर्मचारीहरूले यसअघि मंसिर १ गते मागसहित अध्यक्षलाई पत्र बुझाउँदै २१ दिनको समय दिएका थिए । मंसिर २१ गतेसम्म कुनै पहल नभएपछि सात दिने अल्टिमेटम दिइएको थियो । तर सो अवधिसम्म पनि मागप्रति कुनै चासो नदेखाइएको कर्मचारी पक्षको गुनासो छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया