ललितपुर - ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । बुधबार ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले जेनजीहरुले समयमा निर्वाचन हुन नदिने हुन् कि भन्ने विषयमा चिन्ता व्यक्त गरेका छन् ।
उनले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारलाई आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताउँदै आसन्न प्रतिनिधिसभाको निर्वाच्न समपन्न गर्न जेनजीका अगुवाहरुले पटक पटक आफ्नो स्वर परिवर्तन गर्न नहुने बताए।
जेनजीहरुले पछिल्लो समय निर्वाचन हुनै नदिने भनेर स्वर निकालिरहेको भन्दै मेयर महर्जनले जेनजीका अगुवाहरुले यस्तो कार्य गर्नु नहुने र निर्धारित समयमा निर्वाचन हुनैपर्ने र निर्वाचन सफलीभुत बनाउने काममा जेनजीहरुले पनि सहयोग गर्नुपर्ने बताए ।
मेयर महर्जनले भने, “सम्माननीय प्रधानमन्त्रीज्युको जुन सरकार छ, यसको खास काम भनेको फागुन २१ गतेको चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । तर अलिकति मलाई चिसो परिरहेको छ कि, जेनजीले आमा भन्नुहुन्छ । भनिरहेको पनि छ । तर पछिल्लो कालखण्डमा आएर स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिँदैनौँ भनिरहेको छ । यो भन्न पाइँदैन । चुनाव गर्नैपर्छ । चुनाव गरेर यो सरकार डिरेल भइरहेको अवस्था जुन छ, त्यसलाई रेलमा ल्याउने जुन प्रकारको मुख्य दायित्व छ, त्यो काममा सफलिभूत बनाउनैपर्छ ।’
महानगरको १०७ औं स्थापना दिवसको अवसरमा महानगर प्रमुख महर्जनले जेनजीहरुको बुद्धि पलाउन बाँकी रहेको र निर्वाचन तर्फ सकारात्मक हुनुपर्नेमा जोड दिए ।

बिजनेस पाटी