कथाको एक अध्याय सकियो, निकिता

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ४
|
1.5k views

ललितपुर - ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले थुनामुक्तको आदेश दिएसँगै उनकी पत्नी निकिता पौडेल (लामिछाने)ले कथाका एक अध्याय सकिएको बताएकी छिन् ।

बिहीबार उच्च अदालत बुटवल तुलसीपुर इजालसका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विभिन्न सर्तहरूसहित लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै पत्नी निकिताले फेसबुक वालमा लामो स्टाटस लेख्दै बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दुःख–हैरानी दिन लेखिएको कथाको एक अध्याय अदालतको आदेशसँगै सकिएको बताएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, “बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ। केही समय लाग्यो। अघिल्लो वर्षको कात्तिकदेखि अहिलेसम्म के(के खेपियो–खेपियो, बताएर साध्य छैन। ऊ राजनीतिमै नआएको भए यसरी प्रतिशोधको सिकार हुनुपर्ने नै थिएन। तर, बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दुःख–हैरानी दिन लेखिएको कथाको एक अध्याय आजको आदेशसँगै सकिएको छ।

यो बीचमा हामीले के भोगेनौं। ऊसले ‘कालकोठरी’ भोग्यो। र, मैले उसको अनुपस्थितिको गहिरो रिक्तता भोगें। उस्तै मान्छेले यो तहको हद खप्नै सक्दैनन्। तर, उसले हाँसीहाँसी प्रतिशोधको प्रहार खेप्दा मैले उसको दृढतालाई कानूनी पाटोबाट संरक्षणको हरसंभव प्रयास गरें।

अगाध आस्था र विश्वास रहेकाले यो दिनका लागि भगवानसँग कामना गरेकै थिएँ, केही ढिलै भए पनि आयो। कानूनी प्रकृया अझै बाँकी छ। र, भगवानप्रतिको उस्तै आस्थाको निरन्तरता पनि। न्यायिक प्रक्रियाबाटै तत्कालको यो राहतलाई दीर्घकालिक बनाएर हामी अझै सबल र सशक्त भएर उठ्ने छौं।
यहाँहरूको साथ, सहयोग र शुभेच्छाले हामीलाई थप ऊर्जा दिएको छ, पाइरहुँ। अहिलेसम्मको सद्भाव र समर्थनका लागि सबैलाई नमन्।

 पात्रो/राशिफल  रेडियो YouTube