२०८२ फाल्गुन ६ | Feb 18, 2026

कार्तिक १५ गते “कोमामा” रहेको दीपकको “परान” बाँच्दा बक्स अफिसमा हर्ष

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ६
|
24.8k views

लोकराज अधिकारी

ललितपुर ।  कार्तिक १४ गतेका दिन सम्म चलचित्र “परान” का निर्देशक  दीपक प्रसाद अचार्य “काकु” आफ्नो पहिलो डेब्यु निर्देशन त्यो पनि नेपालका उच्च व्यापारिक घराना गोल्छा अर्गनाईजेशनका अध्यक्ष शेखर गोल्छा  र विज्ञापन व्यवसायी रञ्जित अचार्य सँगको लगानी सहकार्यमा बनेको चलचित्र “परान”ले बक्स अफिसमा राम्रै नाम र दाम बनाउँछ भन्नेमा आशावादी थिए । 

तर चलचित्र प्रदर्शनको पहिलो दिन बेलुकी सम्म  जम्मा ५ लाखको हाराहारीमा ग्रस कलेक्सन हुँदा दीपक र परान समूहको ओठ तालु सुक्न पुग्यो । त्यसमाथि लगातारको ठूलो झरीका कारण चलचित्रको हलमा एक प्रकारको हरिबिजोग अवस्था देखे पछि निर्देशक आचार्यले निराश र  आफूलाई हौस्याउने प्रति दिक्दारी पोख्दै अनि आफूलाई सान्त्वना दिँदै कार्तिक १५ गते शनिवार फेसबुकमा स्ट्याटस लेखे “प्रकृतिले पनि तैँले अझै फिल्म डेब्यु गर्ने बेला भएको थिएन भन्यो, सबैले भने वाह तँ सँग “ हिरा” छ, होला त नि भनेर मक्ख परेको, हिरा नै पानीले बगाउला जस्तो छ!”

आइतबार सम्म चलचित्र टिक्दैन भन्ने एक खालको पीडा र छटपटीमा सुतेका दीपकलाई सायद ८२ वर्षको उमेरमा आफ्नो परान त्यागेका उनका पिताले समेत माथिबाट आर्शिवाद दिँदै भनेको हुनुपर्छ “ निराश नहुनु “कान्छा ” यो झरी तेरो सफलताका बाटामा रहेका अप्ठ्यारा बगाउन र बाटो क्लियर बनाउन  परेको हो ”   । विराटनगरको नोबेल अस्पतालको भेन्टिलेटर बाट झिकेर अक्सिजन संगै घर लगेर आफ्नै काखमा गएको आफ्नो बुवाको परान फर्काउन नसकेपनि दीपकको चलचित्र “परान” को परान भने फर्कियो । नभन्दै कथाले अर्कै मोड लियो  वर्ड अफ माउथका कारण बिस्तारै दर्शक यसरी ओइरिएकी चलचित्रले बक्स अफिसमा उछाल ल्याइदियो । एकातिर चलचित्र यसरी मन पराइयो की चलचित्र हेरेका दर्शकको आँसु सँगालेको भए बागमती नदीको सबै फोहर बगाएर बागमती नै सफा हुन्थ्यो होला ।  अर्कोतिर बक्स अफिसमा हालसम्म सर्वाधिक कमाउने चौथो चलचित्र बन्न पुग्यो “ परान” ।  चलचित्रले ५१औ दिनसम्म आई पुग्दा बक्स अफिसमा करिब १७ करोड ६० लाख ग्रस कमाई गरेको छ ।

यो चलचित्रले चलचित्र हेर्ने कर्पोरेट कल्चरको समेत विकास गरेको छ । त्यसै गरी प्रसिद्ध व्यापारिक घरानाहरूलाई चलचित्र निर्माणमा खुला आमन्त्रण गर्दै उद्योग यता पनि छ है भनेर सम्झाई दिएको छ ।  शनिवार ५१औँ दिन मनाएको चलचित्र अहिले पनि विभिन्न हलहरूमा प्रदर्शन भइरहेको छ ।  ५१औँ दिनको अवसरमा  निर्माण टिमले टोखास्थित अनाथ आश्रममा न्यानो कपडा वितरण गरेको छ । केही दिनमा सक्सेस पार्टीको आयोजना गर्ने पनि निर्माण पक्षको  तयारी छ ।  परान को परीक्षामा ए प्लस प्लस अङ्क पाएका र  डेब्यु निर्देशनबाट अब्बल साबित भएका दीपक काकुले आगामी चलचित्रका लागि यो भन्दा भयानक मेहनत गर्नु पर्ने चुनौती र अवसर  दुवै आफ्नो पोल्टामा पारेका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया