ललितपुर । ललितपुरमा सोमबार देखि सुरु भएको उपत्यकाब्यापी अन्तर वडा स्तरीय ७ ए साइड ललितपुर मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ललितपुरका वडा नम्बर ४, १७, २३ र २४ विजयी भएका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर ४ को आयोजना तथा वडा स्तरीय खेलकुद व्यवस्थापन समितिको व्यवस्थापनमा जावलाखेल फुटबल मैदानमा आज भएको पहिलो खेलमा ललितपुर २० लाई आयोजक ललितपुर ४ ले पेनाल्टीमा हराएको हो । ललितपुर ४का अजय थापा मगर म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ लाई ललितपुर २४ ले ३ एक गोल अन्तरले हरायो । ललितपुर २४ का कृष्ण माली अफ दि म्याच घोषित भए । त्यसै गरी तेश्रो खेल पनि पेनाल्टी सुट आउट बाटै विजेता छानियो । तेश्रो खेलमा सूर्यविनायक नगरपालिका वडा नम्बर ४ ले ललितपुर १७लाई हरायो । सूर्यविनायकका विशेष राजथला म्यान अफ दि म्याच घोषित भए ।
आज भएको अन्तिम खेलमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ लाई ललितपुर २३ ले ४ शून्य गोल अन्तरले हरायो । खेलमा चन्द्रागिरि ९ का खेलाडीहरू सुदीप खत्री र सञ्जीव महर्जनले पहेलो कार्ड पाएका थिए । खेलमा एक्लैले दुई गोल गरेका आकाश बस्नेत म्यान अफ दि म्याच घोषित भए ।
ललितपुर महानगरपालिका बाट १४ , काठमाडौँ महानगरपालिका बाट ४ ,चन्द्रागिरि नगरपालिका बाट ६, कीर्तिपुर नगरपालिका बाट ४ ,मध्यपुरथिमि नगरपालिका बाट १ सूर्यविनायक नगरपालिका बाट १ र गोदावरी नगरपालिका बाट १ गरी ३२ वडाको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले गरेका थिए ।
वडा स्तरीय खेलकुद व्यवस्थापन समितिका संयोजक तारतम थापाले अतिथिहरूलाई स्वागत गरेको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि मेयर महर्जनले ललितपुरमा मेयरका नाममा अन्य प्रकारका टुर्नामेन्ट पनि हुने गरेको बताउँदै आफ्नो कार्यकालको अन्तिमतिर वडा नम्बर ४ले यस प्रकारको फुटबल प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिए । महानगरलाई स्मार्ट सिटी बनाउने चाहनालाई यो प्रतियोगिताले भरथेग गर्ने उनले बताए ।
राष्ट्रिय स्तरका खेलाडीहरू रहेको जावलाखेल युवा क्लब ललितपुरमै रहेको स्मरण गर्दै उनले यो प्रतियोगिताले पनि राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास गरे ।
आयोजकका तर्फबाट बोल्दै वडा नम्बर ४का वडाध्यक्ष सन्तोष खडकाले जेन्जी आन्दोलन अघि नै सानो आयतनमा फूटसलकारुपमा प्रतियोगिता सुरु भएको भएकोमा जेन्जी आन्दोलनका कारण रोकिन पुगेको जानकारी दिँदै धेरै वडाहरूको सुझाव अनुसार फुटसल भन्दा फुटबल प्रतियोगिता नै प्रभावकारी हुने भनेर यो प्रतियोगिता सुरु गरिएको बताए ।
उनले अर्को वर्ष प्रतियोगिता सम्पन्न गर्नका लागि शीर्षक सहितकै बजेट छुट्टाउने पनि कार्यक्रममा जानकारी दिए ।
प्रतियोगिताका अन्य खेलहरू मङ्गलवार बिहान ९ बजे देखि सञ्चालन हुने ४ नम्बर वडा कार्यालयका सञ्चार सम्पर्क अधिकारी विकल महर्जनले जानकारी दिएका छन् । भोली ६ वटा खेल हुने छन्।

















फेसबुकबाट तपाईको प्रतिक्रिया