आन्ना ढुंगेल नीता
हिन्दु भेटिए, क्रिश्चियन भेटिए
बौद्ध भेटिए, इस्लाम भेटिए
इसाई, किराँत अनि जैन पनि भेटिए
जति धर्म बढ्दै गए, त्यति कर्म घट्दै गए
धर्मैधर्मको देशमा सत्कर्म भेटिएन
न सच्चा नेता भेटिए
न त सद्ज्ञान नै भेटियो ।
यहाँ धर्म धेरै भेटियो, कर्म पटक्कै भेटिएन
धर्मका आडमा कुकर्मी मात्र भेटियो
जति खोजौं नैतिकता पटक्कै भेटिएन
भ्रष्टाचारी बढिरहेछन्, कर्मवीर भेटिएन
घुसबीर, ठगबीर, स्वाठबीर, ल्वाठबीर भेटिए
सुरबीर, न्यायवीर अनि सत्वबीर भेटिएन ।
देशद्रोही लखेट्ने आँट भेटिएन
भ्रष्ट नेतालाई जेल कोच्ने साहस भेटिएन
तिमी भ्रष्ट हौ भन्न सक्ने हिम्मत देखिएन
परिश्रमले बच्नुपर्छ भन्ने नेता भेटिएन ।
यहाँ के नै भयो र ?
हिन्दूले मन्दिर धाएर
क्रिश्चियनले चर्च धाएर
मुस्लिमले मस्जिद धाएर
खोइ यहाँ कसैमा ज्ञान भेटिएन ।
बुद्धले ज्ञान सिकाए
रामचन्द्रले त्याग सिकाए
जिसस क्राइष्टले प्रेम सिकाए
महाभारतले कर्म अनि कर्तव्य सिकायो
रामायणले मर्यादापालन गर्न सिकायो
बाइबलले हितोपदेश दियो
कुरानले सत्य, न्याय, दया र परोपकार सिकायो ।
शास्त्रहरु त कति कति यहाँ
गीता, रामायण, महाभारत, कुरान, बाइबल सबै छन्
तर, त्यसबाट तिमीले के सिक्यौ ?
न बुद्धले भनेको मान्यौ
न त धर्मको ज्ञान जान्यौ ?
बेद, गीता, त्रिपिटक कुरान र बाइबलको त कुरै छाडौ
मात्र तिमी भ्रष्ट नेता र कर्मचारी बन्न जान्यौ ।
धर्मै धर्मको देशमा पाइलैपिच्छे
धर्म भेटिए तर कर्म भेटिएन ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया