ललितपुर । निर्वाचन आउन ७० दिन र समानुपातिक निर्वाचनलागि उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने समय ३ दिन बाँकी छँदा काठमाडौँ महानगर पालिकाका मेयर बालेन शाहले आफ्नो ‘राजनीतिक मुभ ’ तीव्र रूपमा बढाउँदा नेपाली राजनीति तरङ्गित भएको छ ।
यतिखेर उनले नयाँ राजनीतिक पार्टी मार्फत अघि बढ्ने तयारी स्वरूप भेटवार्तालाई तीव्र पारेका छन् । यद्यपि उनको प्रयास सबै वैकल्पिक शक्तिलाई एकै ठाउँमा ल्याउने रहेको उनका निकटहरूको भनाई छ । आगामी निर्वाचनमा उनी एमाले अध्यक्ष केपी ओलीले निर्वाचन जितेको क्षेत्र झापा ५ बाट उम्मेदवारी दिने चर्चा छ । हिजो र आज गरी उनले नयाँ पुराना विभिन्न दलका नेताहरू , कलाकर्मी, सञ्चारकर्मी सहित जेन्जी अभियन्ताहरू सँग एक्ला एक्लै भेटवार्ता गरिरहेका छन् । आजै मात्र पनि उनले दोस्रो पटक रास्वपा सभापति रवि लामिछाने सँग वार्ता गरेका छन् ।
मेयर शाहका सहयोगी कुमार व्यञ्जनकारको घर ज्वागलमा उनीहरूबिच वार्ता भएको हो । उनले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ , नेपाली काँग्रेसका नेता डा सुनिल शर्मा ,विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा अमरेशकुमार सिंह , जेन्जी अभियन्ता रक्षा बम लगायत सँग छुट्टा छुट्टै वार्ता गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र शाहबिच आजै साँझसम्म फेरि भेटवार्ता हुने भएको छ ।
राजनीतिक भेटवार्ता तीव्रता दिने क्रममा हिजो नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउत, चिकित्सक डा. भगवान् कोइराला र जेनजी अभियानका सागर ढकाल, केपी खनाल, कलाकार निश्चल बस्नेत लगायतसँग छलफल गरेका थिए । बालेनले आफ्नो ’देश विकास पार्टी’ अघि बढाउने तर रास्वपा लगायतसँग सहकार्यको टुङ्गो लगाउने भएका छन् ।
बिजनेसपाटीलाई विश्वस्त श्रोतले दिएको जानकारी अनुसार बालेनको पार्टीको तर्फबाट समानुपातिक सांसदको सूचि तयार भैसकेको छ । यस अघि अन्य राजनीतक दलमा रहेका र केही स्वतन्त्रलाई समेत बन्द सूचिमा राखिएको छ । अन्तिम रूप भने दिन बाँकी रहेको श्रोतले बताएको छ । चुनाव चिन्ह लौरो बाटै बालेन निर्वाचनमा जाने लगभग निश्चित भएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया