अब विद्युतीय प्रसारणलाइन मुनिको जग्गाको कित्ताकाट गर्न पाइने

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ११
|
1.5k views

ललितपुर - ललितपुर। अब विद्युतीय प्रसारणलाइनमुनिको जग्गाको कित्ताकाट गर्न पाइने भएको छ । सरकारले आगामी दिनमा विद्युतीय प्रसारणलाइन तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको हो ।

भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत सरकारले प्रसारणलाइनको मार्गाधिकार (राइट अफ वे)मा पर्ने जग्गा क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरेको हो ।

“सम्बन्धित जग्गाधनीलाई क्षतिपूर्ति दिई त्यस्तो जग्गामा परेको विद्युतीय प्रसारणलाइनको राइट अफ वे क्षेत्रको कित्ताकाट गरिदिन प्रचलित कानुनबमोजिम सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखी आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिनेछ,” भूउपयोग नियमावलीमा उल्लेख छ ।

सोही अनुसार प्रसारणलाइन निर्माण गर्दा टावर प्याड रहने ठाउँको जग्गा मुआब्जा रकम दिएर अधिग्रहण गरिन्छ । अर्थात्, जग्गाको स्वामित्व आयोजनाको नाममा रहन्छ । राइट अफ वेमा भने जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी निश्चित प्रतिशत क्षतिपूर्ति दिइन्छ । हाल राइट अफ वेमा पर्ने जग्गाको मूल्यांकन गरिएको रकमको १०–२५ प्रतिशतसम्म क्षतिपूर्ति सम्बन्धित जग्गाधनीलाई दिइँदै आएको सचिवालयले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार भने प्रसारणलाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड यथावत् रहनेछन् । प्रसारणलाइनको राइट अफ वेमा पर्ने जग्गा क्षेत्रभित्र घरलगायत संरचना निर्माण, अग्ला रुख रोप्न वा जोखिमयुक्त गतिविधि गर्न भने नपाइने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको सचिवालयले जानकारी गराएको छ ।

सुरक्षित सञ्चालन, मर्मतसम्भार र सार्वजनिक सुरक्षालाई ध्यानमा राखी प्रसारणलाइनको केन्द्रबाट दायाँ र बायाँ दुवैतर्फ निश्चित दूरीसम्मको क्षेत्रलाई राइट अफ वे तोकिएको हुन्छ । राइट अफ वेको चौडाइ प्रसारणलाइनको भोल्टेजस्तर, टावरको उचाइ, तारको झुन्डिने अवस्था स्याग तथा प्राविधिक मापदण्डका आधारमा निर्धारण गरिन्छ ।

६६ तथा १३२ केभी प्रसारणलाइनका निम्ति प्रसारणलाइनको केन्द्रबाट दायाँबायाँ नौनौ गरी १८ मिटर राइट अफ वे रहने व्यवस्था छ । २२० केभी प्रसारणलाइनको १५र१५ गरी ३० मिटर राइट अफ वे रहन्छ । ४०० केभीको २३र२३ गरी ४६ मिटर राइट अफ वे रहने व्यवस्था छ ।

 पात्रो/राशिफल  रेडियो YouTube