ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच ७ बुँदे सहमति भएपछि जेनजी अभियन्ता सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत् प्रतिक्रिया दिएका छन् ।
आज विहान जेनजी अभियन्ता गुरुङले फेसबुकमा रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहको फोटो राख्दै जेनजी समूहको आगामी योजना सार्वजनिक गरेका छन् ।
रवि र बालेन मिल्नुपर्ने भन्दै पटक–पटक बताउँदै आएका गुरुङले रास्वपाले अब चुनावको तयारीमा ध्यान दिन सक्ने भन्दै आफूहरू भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधानमा केन्द्रित हुने बताएका छन् ।
राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि मानेर सम्पूर्ण वैकल्पिक शक्तिलाई एउटै डालोमा ल्याउनका निम्ति एकीकरण अभियान चलाउँदै गर्दा आफ्नो कुनै पनि राजनैतिक दलमा संलग्नता नरहेको समेत स्पष्ट पारेका छन् ।
उनले फेसबुमा लेखेका छन्, “अब रास्वपाले चुनावको तयारीमा ध्यान दिन सक्छ। हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौं ।”
आइतबार बिहानै रास्वपा र बालेनबिच भएको ७ बुँदे सहमतिमा चुनावपछि बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बनाउने तथा रवि लामिछाने पार्टीको नेतृत्वमा रहने उल्लेख छ । जसअनुसार बालेन रास्वपाबाट राजनीतिमा सक्रिय हुने भएका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया