ललितपुर - ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भएको सात बुँदे सहमति पश्चात् विभिन्न प्रतिक्रियाहरु आउन थालेका छन् । यस सहमतिलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले षडयन्त्रको दोस्रो चरणको तयारी सुरु भएको टिप्पणी गरेका छन् ।
रवि—बालेनबीच सम्झौता भएपछि एमालेका महासचिव शंकर पोखरेलले गत भदौ २३ र २४ गते हिंसात्समक घटनाको योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुन लागेको प्रतिक्रिया दिएका छन्।
उनले आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् भदौ २३ र २४ को घटनालाई भूराजनीतिक द्वन्द्व गोटी बनाएर नेपाललाई युक्रेनजस्तो अस्थिर बनाउने षडयन्त्रको पहिलो चरणको संज्ञा दिँदै यो सहमतिलाई दोस्रो चरणको षडयन्त्रको तयारीको रुपमा लिएको बताएका छन् ।
गत भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो। त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो। यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए ? भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ, “उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो। अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ।”
आइतबार बिहान रास्वपा सभापति रवि र र काठमाडौं महानगरपालिकाका मेयर बालेनबीच सातबुँदे सहमति भएको छ। सहमतिअनुसार बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने र पार्टी सभापतिमा लामिछाने रहने सहमति पत्रमा उल्लेख छ।

बिजनेस पाटी