ललितपुर -
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोगसम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा भएका क्षतिका विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगमा आज बयान दिएपछि उनले पत्रकार सम्मेलनमार्फत बल प्रयोगसम्बन्धी कुनै पनि लिखित वा मौखिक आदेश आफूले नदिएको स्पष्ट पारेका हुन् ।
बल प्रयोग गर्ने वा नगर्ने निर्णय कानुनअनुसार तत्कालीन अवस्थामा सुरक्षामा खटिएका अधिकारीहरूको जिम्मेवारी हुने उनको भनाइ छ । “मन्त्री वा प्रधानमन्त्रीले बल प्रयोग गर्न आदेश दिने कुनै कानुनी व्यवस्था छैन,” उनले भने । पूर्वमन्त्री लेखकले उक्त आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आयोगसमक्ष लिखित रूपमा आफ्नो धारणा र विवरणसमेत प्रस्तुत गरिसकेको जानकारी दिए । पूर्वमन्त्री लेखकका अनुसार गत भदौ २३ गते हुने जेनजी समूहको प्रदर्शनबारे सुरक्षा निकाय तथा गृह प्रशासनबाट पूर्वसूचना प्राप्त भएपछि भदौ २२ गते नै केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरिएको थियो । बैठकमा सुरक्षा निकायहरूले सङ्कलन गरेका सूचनाको विश्लेषण गर्दै प्रदर्शन शान्तिपूर्ण हुने आयोजक पक्षबाट जानकारी प्राप्त भएको उल्लेख गरिएको थियो ।
बैठकअघि नेपाल दूरसञ्चार प्राधिकरण तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूसँग छलफल गरी विषयवस्तु बुझ्ने काम गरिएको उनले जानकारी दिए । “कुनै पनि हालतमा मानवीय क्षति नहोस्, भन्ने मेरो स्पष्ट आग्रह थियो,” पूर्वमन्त्री लेखकले भने । प्रदर्शन कुनै राजनीतिक दल वा सङ्गठित संस्थाको आयोजनामा नभएकाले नेतृत्वविहीन हुनसक्ने तथा घूसपैठको सम्भावनाप्रति सुरक्षा निकायलाई सचेत गराइएको थियो । बैठकमा अशान्ति वा बल प्रयोगसम्बन्धी कुनै निर्णय वा योजना नबनाइएको स्पष्ट पार्दै उनले सबै सुरक्षा निकायबीच समन्वय गरी शान्तिसुरक्षाको व्यवस्था मिलाउने निष्कर्ष निकालिएको बताए । केन्द्रीय सुरक्षा समितिको बैठकपछि तत्कालीन प्रधानमन्त्रीसँग बालुवाटारमा औपचारिक छलफल गरिएको र त्यहाँ पनि मानवीय क्षति नहोस् भन्ने विषयमा जोड दिइएको पूर्वगृहमन्त्री लेखकले बताए ।
गत भदौ २३ गते बिहान माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर क्षेत्रमा पुग्दा उग्र र हिंसात्मक बनेको जनाउँदै उनले प्रदर्शनमा घुसपैठ भएको दाबी गरे। उनका अनुसार प्रदर्शनका आयोजकहरूले नै आन्दोलन ‘हाइज्याक’ भएको भन्दै सहभागीहरूलाई तितरबितर हुन आह्वान गरेका थिए । प्रदर्शन हिंसात्मक बन्दा केही व्यक्तिको मृत्यु र धेरै घाइते भएपछि आफू अत्यन्त पीडित र मर्माहित भएको उल्लेख गर्दै पूर्वगृहमन्त्री लेखकले सोही दिन नै नैतिकताको आधारमा राजीनामा आफूले दिएको बताए ।
मन्त्री लेखकले आफूले राजीनामा दिएको भदौ २३ पछि, विशेषगरी भदौ २४ मा भएका घटनाहरूले मुलुकको स्वाभिमान, लोकतान्त्रिक मूल्य र संवैधानिक संस्थामाथि गम्भीर आघात पुगेको बताए। सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतजस्ता राज्यका संवैधानिक अङ्ग र सार्वजनिक सम्पत्तिमा भएको क्षति जेनजी आन्दोलनको मूल भावना विपरीत भएको उनको भनाइ छ । ती घटनाहरू असल उद्देश्य बोकेको जेनजी आन्दोलनका नाममा भएको नभई योजनाबद्ध र घुसपैठका कारण भएको उनले दाबी गरे । व्यक्तिगत क्षतिबारे जानकारी दिँदै पूर्वगृहमन्त्री लेखकले महेन्द्रनगरका आफ्ना दुईवटा घर जलेर नष्ट भएको, काठमाडौँस्थित निवास बस्नै नसक्ने गरी क्षतिग्रस्त भएको र प्रदर्शनकारीको आक्रमणबाट आमालाई जोगाउने क्रममा गम्भीर अवस्था सिर्जना भएको र पछि आमाको निधन भएको सुनाए । साथै शान्ति प्रक्रिया, अन्तरिम संविधान २०६३ र संविधान निर्माणसँग सम्बन्धित ऐतिहासिक दस्तावेजहरू समेत आगलागीमा नष्ट भएको उनले उल्लेख गरे ।

बिजनेस पाटी