२०८२ फाल्गुन ६ | Feb 18, 2026

स्थानीयद्वारा प्रहरी बिटमा आगजनी, प्रहरीले गर्‍यो हवाईफायर

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १७
|
23k views

विराटनगर । सुनसरीको कोसी गाउँपालिका–१, लौकहीबजारमा यतिबेला प्रहरीले हवाईफायर गरेको छ । स्थानीयले सशस्त्र प्रहरी बिटमा आगजनी गरेपछिको तनावग्रस्त स्थितिलाई रोक्न प्रहरीले हवाईफायर गरेको हो ।

गए राति सशस्त्र प्रहरीले गोली प्रहार गर्दा’ ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीय बासिन्दा त्यसको विरोध प्रदर्शनमा उत्रिएर प्रहरी बिटमा आगजनी गर्न पुगेका हुन् ।

विहीबार विहान १ बजेको समयमा कोसी–१, पुरी टोलमा तस्करी नियन्त्रणका निम्ति खटिएको सशस्त्र प्रहरी टोलीले चलाएको गोली शाहको मृत्यु भएको थियो । साह सोही वडाका स्थायी बासिन्दा थिए ।

शाहको मृत्यु पश्चात् स्थानीय बासिन्दाले शव उठाउन अवरोध गर्दै विरोधमा उत्रिएपछि सशस्त्र प्रहरी बिटमा आगजनी गर्न पुगे । भीड तितरबितर पार्न सुरक्षाकर्मीले हवाईफायर गरेको हो । यतिबेला स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

गए राति सिटी सफारीमा तस्करीको समान ल्याइँदै गरेको अवस्थामा रोक्न खोज्दा उल्टै सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले गोली लागेर साहको मृत्यु भएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया