निर्भयपूर्वक मतदान नभए निर्वाचन केवल लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुने छ : ओली

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १८
|
2.1k views

ललितपुर - ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिएको भए पनि अहिलेसम्म निर्वाचनको उचित वातावरण बन्न नसकेको बताएका छन् ।

नयाँ वर्ष सन् २०२६ का अवसरमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनको वातावरण बनाउने दिशामा काम नगरेको बताए। ओलीले निर्वाचनका नाममा लोकतान्त्रिक प्रक्रिया दुरूपयोग गरेर लोकतन्त्र मास्ने प्रयास हुनसक्ने खतरा औंल्याउँदै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्भयपूर्वक मतदान भएन भने निर्वाचन केवल लोकतन्त्र कमजोर बनाउने ड्रामा मात्र हुने बताए ।

ओलीले गत भदौ २३ र २४ को घटनालाई लिएर वर्तमान सरकारले नेताहरूविरुद्ध झुठा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नहुने, जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजेको आरोप लगाए । उनले भने, “यदि आगामी निर्वाचनमा बुथ कब्जा गर्न खोजियो र निर्भयपूर्वक मतदान भएन भने यो निर्वाचन केवल लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुने छ।”

आगामी फागुन २१ मा तोकिएको निर्वाचनमा जन अभिमत स्वेच्छाले प्रकट हुन पाउनुपर्ने भन्दै अध्यक्ष ओलीले शान्तिपूर्ण वातावरणमा स्वच्छ निर्वाचन जहिले हुन्छ, नेकपा (एमाले) निर्वाचनमा सहभागी हुने र विजय हासिल गर्ने बताए।

निर्वाचन भइहाले त्यसका लागि तयार रहन निर्देशन दिँदै अध्यक्ष ओलीले भने, “आफ्नो सामर्थ्यलाई नतिजा निकाल्ने गरी लाग्नुपर्छ। निर्वाचनका लागि सबै तरिकाले तयार रहनूस्।”

तर, अहिले देशलाई निकास दिने सबभन्दा सही बाटो ‘विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना’ हो भन्दै अध्यक्ष ओलीले संसद पुनर्स्थापनापछि संसदबाट समाधान खोजिनुपर्ने पार्टीको धारणा रहेको बताए।

विगतमा संसद विघटनका मुद्दामा सर्वोच्चले दुई महिनामा फैसला दिने गरेको स्मरण गर्दै यो कसैको निजी विषय नभई राष्ट्रको विषय भएकाले समयमै फैसला आउनु आवश्यक रहेको उनले बताए।

गत भदौ २३ र २४ गतेका घटना स्मरण गर्दै अध्यक्ष ओलीले सन् २०२५ मा नेपालमा मानव जातिकै विरुद्ध नृशंस र दानवीय व्यवहार भएको बताए। नेपालीपन, नेपाली मनसँग कहीँ पनि नमिल्ने घटना भएको र यो नेपालका लागि सबभन्दा धेरै असहज रहेको उनले बताए।

 पात्रो/राशिफल  रेडियो YouTube