४ डिग्रीमा झर्‍यो उपत्यकाको तापक्रम, आज यसवर्षकै सबैभन्दा कम

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २०
|
1.9k views

ललितपुर - ललितपुर। आज काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस साता काठमाडौंसहित देशभरको तापक्रम दिनहुँ क्रमिक रूपमा घटिरहेको छ ।

काठमाडौं उपत्यकामा आज वर्षकै सबैभन्दा कम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार ५ डिग्री मापन गरिएको तापक्रम क्रमश घट्दै शनिबार ४.५ र आइतबार ४ डिग्रीमा झरेको हो ।

यसअघि यही समयमा काठमाडौंमा हालसम्मकै कम तापक्रम सन् १९७८ जनवरी ११ मा मापन गरिएको थियो जुन ३.५ डिग्री थियो ।

आइतबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –६.३ डिग्री छ ।

यस्तै, आज डडेलधुराको न्यूनतम तापक्रम २.६, ओखलढुंगाको ४.१, दिपायलको ५.५, ताप्लेजुङको ६, वीरेन्द्रनगरको ६.७, धनकुटाको ७, घोराहीको ७.३, नेपालगन्ज र पोखराको समान ७.७ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube