ललितपुर। आगामी निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रीत रहेर हाल ठूला राजनीतिक दलका शीर्ष नेताहरूबीच बाक्लै भेटघाट र छलफल हुन थालेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा आइतबार दुई ठूला दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
आइतबार विहान ललितपुरको एक घरमा दुई नेताबीच छलफल भएको हो। सो छलफलमा आगामी माग ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा घोषित प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको एक स्रोतले बताइएको छ।
अहिले नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मेयर बालेन शाह र कुलमान घिसिङको समेत साथ पाएर बलियो बनेपछि आगामी निर्वाचनमा मुख्यगरी तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच एक आपसमा छुट्टैखालको दौडाहा देखिएको छ । तीन दलहरू एक्ला एक्लै चुनावमा जाँदा सोचे अनुरुप परिणाम नआउने भएपछि दलहरूबीच सहकार्यको खोजी भइरहेको छ।
चुनावको मिति नजिकिँदै गर्दा बाक्लिएको ओली— प्रचण्ड बीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि रक्षात्मक बनेका पुराना दलहरू गठबन्धन गरेरै भए पनि चुनावमा जाने उचित वातावरणको खोजीमा भौतारिएका देखिन्छन् । तर, नेपाली काँग्रेस भने अझै पनि महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विवादमै रुमल्लिएको देखिन्छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया