२०८२ फाल्गुन ६ | Feb 18, 2026

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना : ६ जनाको मृत्यु, तीन जनाको अवस्था गम्भीर

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २१
|
3.4k views

ललितपुर । आइतबार साँझ काठमाडौंबाट हेटौंटातर्फ गइरहेको सुमो दुर्घटनामा त्यसमा सवार ६ जनाको मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा दुई भारतीय नागरिक रहेका छन् । आइतबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा सुमो दुर्घटना भएको थियो ।

काठमाडौंबाट यात्रु बाकेर हेटौंडा तर्फ गइरहेको ना १ ज १७७८ नम्बरको सुमो आइतबार साझ भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत जुरिखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो । उक्त दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

मकवानपुर प्रहरीका अनुसार मृतकहरूमा भारत बिहार राज्य पटना बस्ने अन्दाजी ४२ वर्षीय रजनिस कुमार, मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने अन्दाजी ४० वर्षीया सबिता लम्साल, हेटौँडा उपमहानगरपालिका–२ कान्तिराजपथ बस्ने अन्दाजी २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्य बेगुसराई बस्ने अन्दाजी ४९–५० वर्षीय अरबिन्द कुमार रहेका छन् । अन्य दुई जनाको भने नाम, थर र वतन खुलेको छैन ।

दुर्घटनामा घाइते हुनेमा सुमो चालक हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोक बस्ने अन्दाजी ४०–४५ वर्षीय गणेश थापा, दुर्घटनामा मृत्यु भएकी सबिता लम्सालका १२ वर्षीय छोरा अभ्यास लम्साल र रौतहट चन्द्रपुर नगरपालिका–२ बस्ने २१ वर्षीया रिचा चौधरी रहेका छन् ।

गम्भीर घाइते चालक गणेश थापा र बालक अभ्यास लम्साललाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर चितवन रिफर गरिएको छ भने रिचा चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया