२०८२ फाल्गुन ६ | Feb 18, 2026

महानगरको बस दुर्घटनाः पाँचको मृत्यु, २८ घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २४
|
17k views

ललितपुर । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ भने २८ जना घाइते भएका छन् ।

बुधबार चार जनाको मृत्यु भएकामा आज थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । मृतक पाँचै जनाको सनाखत भइसकेको छ ।

मृत्यु हुनेमा नेपालगञ्जको कोहलपुर नगरपालिका–५ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा–५ घर भई हाल बूढानीलकण्ठ–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिराह घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर हाल गोठाटार बस्ने अन्दाजी ६५ वर्षीय देवेन्द्र लिम्बू र काठमाडौँ जोरपाटीका ६० वर्षीय अर्जुन लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नेचर हाउस एण्ड हर्व इन्टरनेसनल कम्पनीबाट वनभोज मनाएर फर्कने क्रममा बा४ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंहपौवामा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका २८ मध्ये २३ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेका छ भने पाँच जना उपचारपछि फर्किएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया