क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुग्नुभएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ । प्रधानमन्त्री कार्नीले शुक्रबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गर्नेे बताइएको छ । कार्नी आठ वर्षमा चीन भ्रमण गर्ने पहिलो क्यानेडियन नेता हुनुहुन्छ । गत अक्टोबरमा दक्षिण कोरियामा भएको एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको थियो । कार्नीका पूर्ववर्ती जस्टिन ट्रुडोले सन् २०१७ को डिसेम्बरमा चीनको भ्रमण गर्नुभएको थियो । सन् २०१८ मा भ्यानकुभरमा अमेरिकी पक्राउ पूर्जीका आधारमा विशाल चिनियाँ प्रविधि कम्पनी हुवावेका एक वरिष्ठ कार्यकारीलाई पक्राउ गरेपछि र जासुसीको आरोपमा दुई क्यानेडियालीलाई चीनले जवाफी कारबाहीमा हिरासतमा लिएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो। हालैका वर्षहरूमा चीनले क्यानाडाको चुनावमा हस्तक्षेप गरेको आरोप पनि लाग्दै आएको छ। सीबाहेक कार्नीले प्रधानमन्त्री ली चियाङ र व्यापारिक नेताहरूसँग व्यापार वार्ताका लागि भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ। बेइजिङले यसै हप्ता कार्नीको भ्रमणलाई उच्च महत्व दिने बताएको थियो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया