ललितपुर । सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा (साउन–पुष) आम्दानीभन्दा खर्च करिब १ खर्ब रुपैयाँ बढी देखिएको छ। अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार, सरकारले यस अवधिमा ५ खर्ब ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ भने खर्च ६ खर्ब ९० अर्ब पुगेको छ।
यसका कारण सरकारले दैनिक प्रशासनिक खर्च धान्न समेत ऋण परिचालन गर्नुपर्ने अवस्था आएको छ। चालु आवको पहिलो ६ महिनामा राजस्व संकलन कुल लक्ष्यको मात्र ३९ प्रतिशत मात्रै पूरा भएको छ। पुस ३० सम्ममा कर राजस्व ५ खर्ब १६ अर्ब, गैरकर राजस्व ६१ अर्ब, अनुदान ७ अर्ब १० करोड र अन्य आम्दानी ४ अर्ब रुपैयाँ पुगेको छ।
खर्चको विवरण हेर्दा, दैनिक प्रशासनिक खर्च सबैभन्दा बढी रहेको छ। चालु खर्चमा ४ खर्ब ८७ अर्ब र विकास निर्माणको लागि पुँजीगत खर्च मात्र ४९ अर्ब रुपैयाँ खर्च भएको छ। यस अनुसार विकास खर्च ६ महिनामा जम्मा १२ प्रतिशत मात्रै पूरा भएको छ, जुन गत वर्षको यही अवधिसँग तुलना गर्दा ४ प्रतिशत कम हो।
सरकारले यस अवधिमा १ खर्ब ७५ अर्ब रुपैयाँ ऋण लिएको छ। यसको १ खर्ब ४७ अर्ब आन्तरिक ऋण र २७ अर्ब ४५ करोड बाह्य ऋण रहेको छ। पुससम्म करिब २ खर्ब रुपैयाँ ऋण उठाइएको तथ्यांकमा देखिएको छ।













फेसबुकबाट तपाईको प्रतिक्रिया