फागुन २१ को निर्वाचन : काठमाडौँमा कहाँ-कहाँ हुँदैछ उम्मेदवारी दर्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ६
|
1.2k views

ललितपुर - ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेद्वारी दर्ता गर्न काठमाडौँका १० क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल सुरु भएको छ ।
क्षेत्र नंं १ को कार्यालय काठमाडौँ महानगरपालिका वडा नं ३१ स्थित नयाँबानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रको कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नं २ कार्यालय कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ५ स्थित थली चौरमा रहेको नगरपालिका भवनमा स्थापना गरिएको काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

क्षेत्र नं ३ को कार्यालय गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित वडा कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नं ४ को कार्यालय बूढानीलकण्ठ नगरपालिका नं २ चपलीस्थित ज्येष्ठ नागरिक समाज भवनमा स्थापना गरिएको छ । क्षेत्र नं ५ को कार्यालय टोखा नगरपालिका वडा नं ५ स्थित श्री समाज भवनमा स्थापना गरिएको छ ।

क्षेत्र नं ६ कार्यालय तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थलीस्थित नगरपालिका भवनमा गरिएको छ । क्षेत्र नं ७ को कार्यालय काठमाडौँ महानगरपालिका वडा नं १६ खुसीबु, बालाजुस्थित बहुउद्देश्यीय मार्शल आर्टस् केन्द्र ९ जुडो हलमा स्थापना गरिएको छ । क्षेत्र नं। ८ को कार्यालय नागार्जुन नगरपालिका वडा नं ५ स्थित नगरपालिका भवनमा गरिएको छ ।

क्षेत्र नं ९ को कार्यालय चन्द्रागिरी नगरपालिका वडा नं १२ बलम्बुस्थित नगरपालिका भवनमा स्थापना गरिएको छ । क्षेत्र नं १० को कार्यालय कीर्तिपुर नगरपालिका वडा नं २ बाघ भैरवस्थित वडा नं। २ को कार्यालयमा स्थापना गरिएको छ ।

काठमाडौँका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ताका लागि दर्ता गराउन चाहनेको आउन थालेका छ । उम्मेद्वारी दर्ताका लागि सुरक्षालगायत सबै तयारी पनि पूरा भएको निर्वाचन आयोग, जिल्ला निर्वाचन अधिकारीको कार्यालय, काठमाडौँले जनाएको छ ।

उम्मेद्वारी दर्ताका लागि आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काठमाडौँका १० वटासँगै देशभरका १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेद्वारको सूची प्रकाशन हुने कार्यक्रम छ ।

यही माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेद्वारको बिरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदेवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube