ललितपुर– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन हुनुभएको छ । निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको सञ्चालक समितिबाट अलग भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त बनेको थियो ।
सिबिफिनको विधानअनुसार, पदाधिकारीले प्रतिनिधित्व गर्ने बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिबाट बाहिरिएसँगै परिसंघको पद स्वतः समाप्त हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार अध्यक्ष पद रिक्त भएपछि कार्यसमितिले नयाँ अध्यक्ष चयन प्रक्रिया अघि बढाएको हो ।
परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ गते सम्पन्न कार्यसमितिको १५औँ बैठकले बाँकी कार्यकालका लागि श्रेष्ठलाई अध्यक्षमा मनोनीत गरेको हो ।
दुई दशकभन्दा बढी समयदेखि नेपाली बैंकिङ तथा वित्तीय क्षेत्रमा सक्रिय श्रेष्ठ यसअघि सिबिफिनको महासचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । अध्यक्षको पदभार ग्रहण गर्दै श्रेष्ठले सिबिफिनप्रति देखाइएको विश्वास र जिम्मेवारीका लागि कार्यसमितिप्रति आभार व्यक्त गर्नुभयो । उहाँले संस्थापक अध्यक्ष पवन कुमार गोल्यान र निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले निर्माण गर्नुभएको सिबिफिनको विरासतलाई निरन्तरता दिँदै बैंकिङ क्षेत्रको दिगो विकासका लागि परिसंघलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाउनुभयो ।
बैंकिङ क्षेत्र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले वित्तीय स्थायित्व, जनविश्वास अभिवृद्धि र दिगो आर्थिक विकासलाई प्राथमिकतामा राखेर सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
यसैबीच, अध्यक्ष श्रेष्ठकै अध्यक्षतामा बसेको कार्यसमितिको १६औँ बैठकले महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत रूपमा मनोनीत गरेको छ । महासचिव श्रेष्ठ अध्यक्षमा चयन भएपछि महासचिव पद रिक्त भएको थियो भने कोषाध्यक्ष पद पनि यसअघि रिक्त अवस्थामा थियो ।
नवनियुक्त महासचिव गोयल अनुभवी बैंकरका रूपमा परिचित हुनुहुन्छ । उहाँले नबिल बैंक, तत्कालीन बैंक अफ काठमाण्डू, क्लिन इनर्जी डेभलपमेन्ट बैंक तथा नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीमा उच्च व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।









फेसबुकबाट तपाईको प्रतिक्रिया