ललितपुर - ललितपुर । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुने छ । यस्तै उच्चस्तरीय जाँचबुझ आयोग समयसीमा थप गर्ने बारे पनि छलफल हुने छ ।
भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’क्रमका हिंसात्मक घटना अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको थपिएको समयसीमा आज सकिएको छ । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।
भदौमा तीन महिनाको कार्यादेशसहित गठन भएको आयोगको काम नसकिएपछि एक महिना म्याद थप भइसकेको थियो । आयोगले प्रतिवेदन लेखनको ८० प्रतिशत भएकाले म्याद थप्न चाहेको छ । राज्य पक्ष प्रदर्शनकारीका तर्फबाट भएको जनधनको क्षतिको मुख्य कारण र दोषी पत्ता लगाउने जिम्मेवारी पाएको आयोगले खासै काम नगरेको जस्तो देखिएको थियो भने जिल्ला दौडाहामा जाँदा दलका नेताहरुको आक्रोशमा परेर फर्किएको थियो ।
यता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्थानहद लगाए पनि पछि लिखित बयानपछि स्थान हद पनि फुकुवा भएपछि आयोग झन निस्कामी देखिएको भन्दै आलोचना भएको छ ।

बिजनेस पाटी