२०८२ फाल्गुन ६ | Feb 18, 2026

झापामा कुष्ठरोगको चुनौती बढ्दो, छ महिनामै ५५ नयाँ बिरामी फेला

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १२
|
1.1k views

झापा झापा जिल्लामा कुष्ठरोगका नयाँ बिरामी फेला पर्ने क्रम बढ्दै गएको छ। पछिल्लो छ महिनाको अवधिमा एक बालबालिकासहित ५५ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको तथ्याङ्कले जिल्लामा कुष्ठरोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको देखाएको छ।

स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार जिल्लाका १५ स्थानीय तहहरूमध्ये दमक नगरपालिका र कचनकवल गाउँपालिकामा सबैभन्दा बढी १२/१२ जना नयाँ कुष्ठरोगी फेला परेका छन्।

त्यसैगरी, मेचीनगर नगरपालिकामा तीन, बुद्धशान्ति गाउँपालिकामा दुई, शिवसताक्षी नगरपालिकामा पाँच, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा दुई/दुई, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिकामा पाँच/पाँच तथा भद्रपुर नगरपालिकामा चार जना नयाँ कुष्ठरोगी भेटिएका छन्।

चालु आर्थिक वर्षमा पहिचान भएका मध्ये ५३ जनाले उपचारसमेत पाइसकेको फोकल पर्सन दासले जानकारी दिनुभयो।
पछिल्ला पाँच वर्षको तथ्याङ्कले झापामा कुष्ठरोगीको संख्या क्रमशः बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष २०७७/७८ मा ९५ जना नयाँ कुष्ठरोगी फेला परेका थिए भने २०७८/७९ मा १२१, २०७९/८० मा १५७, २०८०/८१ मा १२१ र सोही वर्षमा पुनः १४७ जना नयाँ कुष्ठरोगी थपिएका थिए।

यस अवधिमा जिल्लाको कुष्ठरोग सङ्क्रमण दर २०७७/७८ मा १.०२ प्रतिशतबाट २०८०/८१ मा १.४७ प्रतिशतमा पुगेको तथ्याङ्कले देखाएको छ। विश्वभर प्रत्येक वर्ष करिब दुई लाख र नेपालमा करिब दुई हजार पाँच सय नयाँ कुष्ठरोगी फेला पर्ने गरेको दासले बताउनुभयो। उहाँका अनुसार कुष्ठरोग चिह्न र लक्षणका आधारमा कम सर्ने र बढी सर्ने गरी दुई प्रकारका हुन्छन्।

“बहु–औषधि उपचार पद्धतिबाट छदेखि १२ महिनासम्म नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ,” उहाँले भन्नुभयो, “समयमै उपचार भएमा अपाङ्गता पनि हुँदैन।” तर, सामाजिक लाञ्छना र अवहेलनाको डरका कारण अझै पनि गाउँघरमा धेरै कुष्ठरोगी लुकेर बस्ने अवस्था रहेकाले सूक्ष्म खोजपड्ताल र जनचेतना अभियान आवश्यक रहेको स्वास्थ्य कार्यालयको निष्कर्ष छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया