|
|
२०८२ माघ १४
816 views

ललितपुर - ललितपुर । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएको छ । बिहानदेखि निरन्तर हिमपात हुँदा करिब दुई इञ्च बाक्लो हिउँ जमेको स्थानीयले बताएका छन् ।
हिमपातपछि गुर्जा जोड्ने पदमार्ग र सडक अवरुद्ध भएका छन् । चिसो बढेपछि सर्वसाधारण घरभित्रै आगो तापेर बस्न बाध्य छन् भने गाईबस्तु तथा भेडाबाख्रा गोठमै राखेर सुक्खा घाँस खुवाइएको छ ।
पर्यटकीय क्षेत्र घोडेपानी, पुनहिल, खोप्रा र मोहरेडाँडा हिउँले ढाकिँदा पर्यटकको चहलपहल घटेको छ । होटल व्यवसायीका अनुसार हिमपातसँगै क्षेत्र सुनसान बनेको छ ।
यो वर्षको दोस्रो हिमपातसँगै जिल्लाभर परेको वर्षाले भने कृषकलाई राहत दिएको छ । वर्षा र हिउँले सिँचाइको काम भएको र गहुँ, जौ, केराउ तथा सुन्तलाजात फलफूलका बालीलाई फाइदा पुगेको कृषकहरूले बताएका छन् ।

बिजनेस पाटी