ललितपुर – नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ औपचारिक रूपमा सुरु भएको छ । माघ १६ गते चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका निर्णायक, विभिन्न देशबाट आएका प्रतिनिधि र चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।
उद्घाटन समारोहका प्रमुख अतिथि चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष दिनेश डी.सी. रहनुभएको थियो । राष्ट्रिय निर्णायक मण्डलतर्फ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र लेखक तथा निर्देशक रमेश बुढाथोकी र निर्माता तथा छायाँकार रविन आचार्य सहभागी थिए । त्यस्तै अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा बेलायतकी निर्माता एड्रिना जुली कुलिग र अर्जेन्टिनाका निर्देशक तथा चिकित्सक डा. जर्ज गुइलेर्मो क्याराभोत्ता रहेका छन् ।
समारोहमा फ्रान्स, भारत, बंगलादेश, लिथुआनिया, जर्मनी, अमेरिका, अस्ट्रेलिया र इजरायललगायत विभिन्न देशबाट आएका ८ अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थिति थियो । उनीहरूलाई नेपाली पहिचान झल्कने ढाका टोपी र खादा ओढाएर सम्मानपूर्वक स्वागत गरिएको थियो । उद्घाटन कार्यक्रममा सांस्कृतिक नृत्य तथा कला प्रस्तुति प्रस्तुत गरिएको थियो भने छनोटमा परेका चलचित्रहरूको विशेष स्क्रिनिङले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
माघ १८ गतेसम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय महोत्सव चाबहिलस्थित चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड तथा नेपाल पुलिस क्लबमा आयोजना हुँदैछ । महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन भइरहेका छन् । लघुचलचित्र, कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रका साथै महिला, बालबालिका, मानव अधिकार र सांस्कृतिक विषयवस्तुमा आधारित चलचित्रहरू समावेश गरिएका छन् ।
महोत्सवका निर्देशक तथा अध्यक्ष सन्तोष सुवेदीका अनुसार तीन मिनेटदेखि साढे दुई घण्टासम्म अवधिका चलचित्रहरू छनोटमा परेका छन् । महोत्सवको समापन समारोह नेपाल पुलिस क्लबमा आयोजना गरिनेछ, जहाँ उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकारलगायत विभिन्न विधामा उत्कृष्ट ठहरिएका चलचित्र तथा स्रष्टाहरूलाई अवार्ड र विशेष सम्मान प्रदान गरिनेछ ।




















फेसबुकबाट तपाईको प्रतिक्रिया