ललितपुर – नारायणघाट–बुटवल सडक विस्तारको पूर्वी खण्डमा पर्ने सबै पुलको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ वटा पुलबाट सवारीसाधन सञ्चालन भइसकेको नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ ।
योजना अनुसार अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएपछि पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न भएका हुन् । उक्त खण्डमा २५ मिटर लम्बाइसम्मका २२ साना पुल र २५ मिटरभन्दा लामो १२ ठूला पुल निर्माण गर्नुपर्ने थियो ।
सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार साना पुल निर्माण भइसकेपछि सञ्चालनमा आए पनि ठूला पुल अझै पूर्णरूपमा सञ्चालनमा आएका छैनन् । गत साता चोरमारा बजारको गिरुबारी खोला पुल सञ्चालनमा आएसँगै अहिले ३३ वटा पुलबाट यातायात सहज भइरहेको छ । बाँकी रहेको अरुण खोला पुल फागुन २१ गतेको निर्वाचनअगावै सञ्चालनमा ल्याउने तयारी भइरहेको खनालले बताए ।
पूर्वी खण्डमा सडक विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको छ । दाउन्ने क्षेत्रमा कठिन भौगोलिक संरचनाका कारण केही कल्भर्ट निर्माण बाँकी रहेको खनालले जानकारी दिनुभयो । नारायणघाटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकमध्ये दाउन्नेबाहेकका प्रायः सबै क्षेत्रमा कालोपत्र सडकबाट यात्रा गर्न सकिन्छ ।
पूर्वी खण्डमा हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । दुईतर्फी कालोपत्र सकिएको ठाउँमा लेन मार्किङ र सर्भिस लेन निर्माणको काम भइरहेको छ। दाउन्ने क्षेत्रमा बाँकी सडक ढलान, डाँडा काट्ने, कल्भर्ट निर्माण, बाटोको चौडाइ बढाउने तथा पहिरो रोक्ने कामहरू भइरहेको छ । यस खण्डमा कुल २१५ वटा कल्भर्ट निर्माण हुनेछन् ।
सडक विस्तारका लागि नेपाल सरकारले चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडसँग विसं २०७९ माघ २४ मा सम्झौता गरेको थियो। ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि सुस्त गतिका कारण म्याद चारपटक थपेर आगामी साउन ८ भित्र निर्माण पूरा गर्ने अन्तिम म्याद दिइएको छ ।
११४ किलोमिटर लामो नारायणघाट–बुटवल सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । दुवै खण्डको जिम्मा सोही चिनियाँ कम्पनीले पाएको छ । कुल लागत करिब १७ अर्ब रुपैयाँ रहेकोमा ८५ प्रतिशत एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक विस्तारको काम भइरहेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया