ललितपुर – शङ्कपुर नगरपालिका वडा नं. ५, इटाखेलस्थित स्वयंप्रकट श्रीशालग्राम भगवानको पावन सान्निध्यमा रहेको श्रीनेपालआमा मन्दिर परिसरमा शुक्रबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्वस्तिक अस्पताल, सातदोबाटो, ओम कायकल्प वेलनेस सेन्टर, न्यूलाइफ आयुर्वेद प्रा.लि. गोंगबुले, महिला वातावरण समूह, सामुदायिक सेवा समाज र सामुदायिक प्रहरी सेवा केन्द्र, साँखु, ईटाखेल टोल विकास समितिको सहयोगमा आयोजना गरिएको उक्त शिविरमा एलोपेथी, प्राकृतिक चिकित्सा, आयुर्वेद र मनोचिकित्सा सेवा प्रदान गरियो ।
शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए। ब्लड प्रेसर जाँच, जनरल चेकअप, आवश्यक औषधि वितरण साथै प्राकृतिक चिकित्सा, आयुर्वेद र मनोपरामर्श सेवा समेत उपलब्ध गराइएको थियो ।
स्वस्तिक अस्पतालका प्रबन्ध निर्देशक लक्ष्मीनारायण सुवालसहित ९ प्राविधिक डाक्टरले एलोपेथी उपचार प्रदान गरेका थिए। यसबाहेक कायाकल्प वेलनेस सेन्टर, मनोविश्लेषण केन्द्र, प्राकृतिक स्वास्थ्य सचेतना अभियान, सामुदायिक सेवा समाज र अन्य संस्थाका प्रतिनिधिहरू उपस्थित थिए ।
कार्यक्रम संयोजन रेणु खरेलले गर्नुभएको थियो । समापन समारोहमा स्वास्थ्य शिविरमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै श्रीपञ्चमहालक्ष्मी मन्दिर श्रीपीठका उत्तराधिकारी स्वामी श्रीवासुदेव प्रपन्नाचार्य र श्रीमुक्तिनाथ संस्कृत गुरुकुल वेदपाठशालाका श्रीदामोदर गुरुले विदाइ गर्नुभयो ।
उक्त परिसरमा निर्माणाधीन श्रीमुक्तिनाथ बाबा अस्पतालले भविष्यमा स्वास्थ्य सेवामा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया