२०८२ फाल्गुन ६ | Feb 18, 2026

मूल्यको प्रतीक्षामा बोटमै कुहिँदै जुनार

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १९
|
816 views

ललितपुर – रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू अहिले जुनारको उचित मूल्य कहिले पाइनु होला भन्ने चिन्तामा छन् । अघिल्ला वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन केही घटे पनि बेमौसममा बिक्री गर्दा राम्रो भाउ पाउने आशाले अधिकांश कृषकले अझै जुनार र सुन्तला बोटमै राखेका छन् ।

सामान्यतया मङ्सिरदेखि माघको पहिलो हप्तासम्म जुनार टिप्ने समय भए पनि ओख्रेनीका धेरै कृषकले मूल्य बढ्ने अपेक्षामा बगैँचामै फल राखेका हुन् । करिब पाँच सय बोटमा फल लागेको आफ्नो बगैँचाको जुनार राम्रो मूल्य पाएपछि मात्रै बिक्री गर्ने सोचमा रहेको स्थानीय कृषक हिमाल तामाङले बताउनुभयो । उहाँका अनुसार अहिले चुनावको चहलपहलभन्दा पनि बोटमा पाकिरहेको जुनारको मूल्यको चिन्ताले आफूहरूलाई बढी सताइरहेको छ ।

यस वर्ष असोज र कात्तिकमा परेको निरन्तर वर्षाका कारण जुनार उत्पादनमा केही गिरावट आएको कृषकहरू बताउँछन् । गत मङ्सिर–पुसतिर बगैँचाबाट बिक्री गर्दा प्रतिकिलो ५० रुपैयाँ मात्रै पाएको तर अब जुनारको दानाको आकार हेरेर ६० देखि ९० रुपैयाँसम्म मूल्य पाउन सकिने स्थानीय कृषक दिलमाया तामाङले जानकारी दिनुभयो । उहाँले मूल्य अझै बढ्ने आशामा जुनार नटिपेको भए पनि अब भने प्रतिकिलो ६०–७० रुपैयाँमा बिक्री गर्ने तयारीमा रहेको बताउनुभयो ।

जुनारले बिरुवा रोपेको दुईदेखि तीन वर्षमै उत्पादन दिन सुरु गर्ने गर्छ । जुनार बगैँचामा भटमास, लसुन, प्याज, काउली, बन्दाजस्ता तरकारी तथा कोसेबालीसमेत लगाएर कृषकहरूले दोहोरो आम्दानी लिँदै आएका छन् । सिजन सकिएपछि बिक्री गर्दा राम्रो मूल्य पाइने अपेक्षाले आफूले पनि अहिलेसम्म जुनार नबेचेको अर्का कृषक गिरीराज तामाङले बताउनुभयो । हाल जुनारबाट जाम, जुस तथा विभिन्न पेयपदार्थ उत्पादन गरी बिक्री गर्ने अभ्यास पनि बढ्दै गएको छ ।

जुनारको बजारको खासै समस्या नरहेको रामेछाप नगरपालिका–७ सुकाजोरका कृषक रामकुमार कार्कीको भनाइ छ । यद्यपि जुनार जोन समन्वय समितिका प्राविधिकका अनुसार माघको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म जुनार फुल्ने समय भएकाले मूल्यको आशामा लामो समयसम्म बोटमै फल राख्नु उपयुक्त हुँदैन । बोटमै जुनार राख्दा अर्को वर्षको फूलमा असर पर्ने भएकाले समयमै टिपेर चिस्यान गृहमा भण्डारण गरी बिक्री गर्दा कृषकलाई बढी फाइदा हुने जुनार जोन समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्कीको सुझाव छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछापले मन्थली, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकालाई जुनार जोनका रूपमा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ५८० हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएकोमा चालु आर्थिक वर्षमा उक्त क्षेत्र विस्तार भई ६८० हेक्टर पुगेको नायब प्राविधिक सहायक भवानी बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिक दृष्टिले माघ–फागुनसम्म जुनार बोटमै राख्नु उपयुक्त मानिँदैन ।

हरेक जुनार उत्पादन हुने टोलमा शीत भण्डारणको व्यवस्था गरी सिजनमा त्यहाँ जुनार राख्ने र बेमौसममा बिक्री गर्न सकिए कृषकहरूलाई थप लाभ पुग्ने स्थानीय लोकेन्द्र श्रेष्ठको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया