ललितपुर – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा संकलित निक्षेप उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म बैंकिङ प्रणालीको कुल निक्षेप ४ खर्ब १७ अर्ब रुपैयाँले वृद्धि भई ७६ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। यो वृद्धि अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७ प्रतिशतले बढी हो ।
कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.९ प्रतिशत, ४१.३ प्रतिशत र ४२.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अंशहरू क्रमशः कम–बढी रहेको देखिन्छ, जसले बैंकिङ प्रणालीमा निक्षेप संरचनामा परिवर्तन आएको संकेत गर्दछ । पुस मसान्तसम्म कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३५ प्रतिशतभन्दा केही बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता, बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा पनि बढ्दो क्रममा देखिएको छ। छ महिनाको अवधिमा निजी क्षेत्र कर्जा १ खर्ब ९७ अर्ब रुपैयाँले बढेर ५६ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । यद्यपि, अघिल्लो वर्षको सोही अवधिको तुलनामा कर्जा वृद्धिदर केही सुस्त रहेको देखिन्छ । वार्षिक आधारमा भने निजी क्षेत्र कर्जा करिब ७ प्रतिशतले वृद्धि भएको छ ।
कुल निजी क्षेत्र कर्जामध्ये ६२.७ प्रतिशत गैरवित्तीय संस्थागत क्षेत्रतर्फ र ३७.३ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाहित भएको छ । कर्जाको सुरक्षण संरचनातर्फ हेर्दा, कुल कर्जामध्ये झन्डै ६४ प्रतिशत घरजग्गा धितोमा आधारित रहेको छ भने कृषि तथा अन्य चालू सम्पत्तिको सुरक्षणमा करिब १५ प्रतिशत कर्जा प्रवाह भएको छ ।
क्षेत्रगत रूपमा उपभोग्य, निर्माण, यातायात तथा सार्वजनिक सेवा, औद्योगिक उत्पादन र सेवा क्षेत्रमा कर्जा विस्तार भएको छ । तर, कृषि क्षेत्रतर्फको कर्जा भने समीक्षा अवधिमा केही घटेको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा मार्जिन कर्जा, आयातसम्बन्धी कर्जा, हायर पर्चेज र नगद प्रवाहसँग सम्बन्धित कर्जामा वृद्धि देखिएको छ भने अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा घटेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया