ललितपुर - ललितपुर – श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टि–२० विश्वकप खेल पाकिस्तानले बहिष्कार गर्ने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ । श्रीलङ्का क्रिकेटका प्रमुख कार्यकारी अधिकृत एस्ले डि सिल्भाले सुरक्षा, होटल बुकिङ र टिकट बिक्रीसमेत तयारी पूरा भइसकेको अवस्थामा खेल बहिष्कारले विभिन्न पक्षलाई असर पुर्याउने बताए ।
उहाँका अनुसार, श्रीलङ्का क्रिकेटले पाकिस्तान क्रिकेट बोर्डलाई दुई देशबीचको लामो र बलियो क्रिकेट सम्बन्धको आधारमा पत्र पठाएको छ, तर पत्रको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
श्रीलङ्का सन् २००९ मा लाहोरमा टोलीमाथि भएको आतंकवादी आक्रमणपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग परेको पाकिस्तान भ्रमण गर्ने पहिलो राष्ट्रिय टोली बनेको थियो । त्यसपछि लामो समयसम्म पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट स्थगित भएको थियो।
यसपालि श्रीलङ्का र भारतले सह–आयोजना गरेको टि–२० विश्वकप पाकिस्तान सरकारको निर्णयका कारण विवादमा परेको छ । पाकिस्तानले यस हप्ताको सुरुमा भारतसँगको खेलमा मैदान नउत्रने घोषणा गरेपछि बहिष्कारको स्थिति सिर्जना भएको हो। त्यसपछि पाकिस्तानले बङ्गलादेशसँगको एकताका रूपमा यो निर्णय लिएको स्पष्ट गरेको थियो ।
सुरक्षा चिन्ताको कारण खेल स्थानान्तरणको माग गरिए पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले स्वतन्त्र मूल्याङ्कनपछि भारतमा बङ्गलादेश टोलीका लागि कुनै सुरक्षा जोखिम नभेटिएको र खेल स्थानान्तरण ढिलो भएको जनाएको छ । पाकिस्तानले आइसिसीको निर्णय असङ्गत भएको आरोप लगाएको छ ।
भारत र पाकिस्तानबीच दशकौँदेखि सैन्य र कूटनीतिक तनाव रहेकाले क्रिकेटमा पनि यसको प्रभाव देखिँदै आएको छ । क्रिकेट दुवै देशमा करोडौँ मानिसले अत्यन्त चासोका साथ हेर्ने खेल हो ।
यसैबीच, सन् २०२२ मा गम्भीर आर्थिक सङ्कट भोगेको श्रीलङ्का हाल अन्तर्राष्ट्रिय मुद्राकोषको पुनःउत्थान कार्यक्रमअन्तर्गत अघि बढिरहेको छ । पर्यटन श्रीलङ्काको प्रमुख आर्थिक आधार भएकाले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताको आर्थिक महत्त्व पनि उच्च मानिन्छ ।

बिजनेस पाटी