अभिनेता सुनिल थापाको निधनप्रति प्रधानमन्त्री कार्कीको शोक, चलचित्र क्षेत्रले दरिलो स्तम्भ गुमायो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २४
|
714 views

ललितपुर - ललितपुर – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सुनिल थापाको असामयिक निधनप्रति प्रधानमन्त्री सुशीला कार्कीले गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले थापाको निधनले नेपाली मात्रै नभई भारतीय फिल्म उद्योगले समेत एक बहुआयामिक र प्रभावशाली कलाकार गुमाएको बताउनुभएको छ ।

प्रधानमन्त्रीद्वारा जारी शोक सन्देशमा ‘चिनो’ का राते काइँलादेखि ‘मेरी कोम’ का प्रशिक्षकसम्म विभिन्न भूमिकामार्फत थापाले दर्शकको मन जित्न सफल भएको उल्लेख गरिएको छ । खलनायक तथा सहनायकका रूपमा उहाँले निर्वाह गरेका सशक्त चरित्रहरूले चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएको प्रधानमन्त्रीको भनाइ छ ।

चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ सन्देशमा भनिएको छ । साथै, उहाँका सिर्जनात्मक काम र चरित्रहरू दर्शकको स्मृतिमा सदैव जीवित रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले दिवंगत कलाकारप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन, आफन्त, शुभेच्छुक तथा समग्र कला क्षेत्रप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

अभिनेता थापाको आज बिहान हृदयघातका कारण ६८ वर्षको उमेरमा निधन भएको हो ।

 पात्रो/राशिफल  रेडियो YouTube