ललितपुर – नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, सुरक्षित र दिगो डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यसहित नेपालमै विकसित ‘एआई’ समर्थित एकीकृत डिजिटल इकोसिस्टम ‘ग्लोबल डायरी’ सञ्चालनमा आएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा आम नागरिक, व्यवसायी तथा सरकारी निकायलाई लक्षित गर्दै यो डिजिटल प्लेटफर्म प्रयोगमा ल्याइएको जानकारी दिइएको हो ।
यस प्लेटफर्ममार्फत व्यवसायहरूले आफ्नो डिजिटल उपस्थितिलाई वेबसाइटस्तरसम्म विस्तार गर्न, बजारीकरण खर्च घटाउन र ग्राहकसँग सिधा संवाद गर्न सक्ने सुविधा पाउने जनाइएको छ । यसले व्यवसायको विस्तार र प्रवर्द्धनमा सहयोग गर्नुका साथै उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध कायम गराउने भएकाले मार्केटिङ तथा सञ्चालन खर्च उल्लेखनीय रूपमा घट्ने र व्यवसायी तथा उपभोक्ता दुवैले प्रत्यक्ष लाभ लिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. विनोद आत्रेयले विभिन्न सामाजिक सञ्जालका विशेषताहरूलाई एकीकृत गरी अवसर, व्यापार र सेवा एकै स्थानबाट उपलब्ध गराउने लक्ष्यसहित प्लेटफर्म सुरु गरिएको बताउँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो । ग्लोबल डायरीका अध्यक्ष शेखर अर्यालले डिजिटल युगमा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने राष्ट्रिय गौरवको परियोजनाका रूपमा ग्लोबल डायरी विकास गरिएको उल्लेख गर्दै उपभोक्ता, व्यवसायी, मिडिया र सरकार सबैलाई लाभ पुग्ने भएकाले आवद्ध हुन आग्रह गर्नुभयो । उहाँले डिजिटल प्रविधिमार्फत आर्थिक समृद्धि हासिल गर्न यस्तो अभियान सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
ग्लोबल डायरीका प्रमुख कार्यकारी निर्देशक तथा संस्थापक भगवानदास अग्रहरिले यो केवल सामाजिक सञ्जाल, ई–कमर्स वा रोजगार पोर्टल मात्र नभई समग्र डिजिटल इकोसिस्टम भएको स्पष्ट पार्दै नागरिकलाई आधिकारिक सेवा प्रदायक खोज्न, समीक्षा हेर्न र आवश्यकताअनुसार सही निर्णय लिन सहयोग गर्ने बताउनुभयो ।
उहाँका अनुसार उन्नत एआई प्रविधिले प्रयोगकर्तालाई सान्दर्भिक सेवा, रोजगारी सिफारिस र प्रमाणित स्थानीय व्यवसाय पहिचान गर्न मद्दत गर्ने, साथै नक्कली गतिविधि नियन्त्रण र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने भएकाले प्लेटफर्म सुरक्षित, भरपर्दो र बहुउपयोगी रहेको दाबी गर्नुभयो ।
राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य कृष्ण अधिकारीले देशमा धेरै डिजिटल प्लेटफर्म भए पनि राष्ट्रियस्तरको भरपर्दो प्रणालीको अभाव रहेको अवस्थामा ग्लोबल डायरीले विश्वसनीय एकीकृत इकोसिस्टम निर्माण गरेको बताउँदै यो सञ्चारकर्मीका लागि समेत उपयोगी हुने उल्लेख गर्नुभयो । ग्लोबल डायरीका सञ्चालक कृष्ण सापकोटाले युवा, विद्यार्थी, रोजगारी खोजीकर्ता, उद्यमी, व्यवसायी, पेशागत संस्था र स्थानीय सेवा प्रदायक सबैलाई लक्षित गरी प्लेटफर्म सञ्चालन गरिएको जानकारी दिनुभयो ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया