२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रदेशका केहि उच्च भूभागमा हिमपात, तराईमा कुहिरो र तुँवालोको सम्भावना

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ३
|
663 views

ललितपुर – नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । यसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहेको छ भने देशका अन्य भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसोसम्म तराईका केही भूभागमा कुहिरो लाग्ने सम्भावना छ । दिउँसोको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्नेछ । साथै, यी प्रदेशका पहाडी क्षेत्र र अन्य प्रदेशका उच्च भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्न सक्ने महाशाखाको पूर्वानुमान छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पुनः हल्का वर्षा र हिमपात हुन सक्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया