महाशिवरात्रिपछि पशुपतिनाथ आएका नागा बाबासहित साधुसन्तलाई दक्षिणासहित बिदाइ

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ५
|
663 views

ललितपुर - ललितपुर – महाशिवरात्रिको अवसरमा गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा पूजा–आराधना एवं दर्शन गर्न आएका नागा बाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ ।

बिहान ११ बजेदेखि मन्दिरअघिको पश्चिम ढोकाबाट बिदाइ कार्यक्रम सुरु गरिएको हो । संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई रु ५५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिँदैछ । पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी चार हजारभन्दा बढी साधुसन्त सहभागी रहेको उहाँले जानकारी दिनुभयो ।

महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहितका साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ ।

संस्थानले उपलब्ध गराएको दक्षिणामा कोषले आधा रकम थप्ने व्यवस्था रहेको कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले बताउनुभयो। फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले खाने, बस्ने तथा धुनी बाल्न आवश्यक दाउरा समेत उपलब्ध गराउँदै आएको छ ।

आजको बिदाइ कार्यक्रममा फाल्गुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएका लोटा, चम्मर, घण्टी, राडी एक सेटसहित दक्षिणा र २१ प्रकारका सामग्री पनि समावेश गरिने संस्थानले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube