ललितपुर – चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन प्रचारप्रसारसहित गीतसङ्गीतको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
मर्मस्पर्शी, सन्देशमूलक र कालजयी गीतसङ्गीत प्रस्तुत भएका चलचित्र दर्शकको रोजाइमा पर्ने गरेको उनीहरूको अनुभव छ । पछिल्लो समय ‘भिडियो सेयरिङ साइट’ टिकटकमा समेत गीतसङ्गीत लोकप्रिय हुने गरेको छ । उदाहरणका लागि ‘प्रेम गीत’ ‘नाई नभन्नु ल’ ‘म यस्तो गीत गाउँछु’ लगायतका चलचित्र गीतसङ्गीतकै कारण सफल भएका छन् ।
अर्जुन पोखरेल ले चलचित्र उद्योगमा गीतसङ्गीतलाई प्रचारप्रसारको सशक्त माध्यम मान्दै पनि यसतर्फ लगानी कम भएको कारण गुणस्तरीय चलचित्र बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो
चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीतअनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतभन्दा चलचित्रका गीत भव्य र फरक हुनुपर्छ। तर, पछिल्लो समय त्यसतर्फ निर्माताकै ध्यान गएको देखिँदैन।
उहाँले आफ्नो अनुभवमा ‘स्टुपिड मन’ ‘प्रेम गीत’ ‘ऐश्वर्य’ ‘म यस्तो गीत गाउँछु’ सफल हुनुको कारण गीतसङ्गीत रहेको उल्लेख गर्नुभयो । तर पछिल्लो समय गीतसङ्गीतलाई चलचित्रकै दृश्यसँग राखेर पनि सार्वजनिक गर्ने गरिन्छ ।
केही समयदेखि प्रेमकथानक चलचित्र निर्माणमा कमी आएको छ, यसले गर्दा प्रेमिल गीत कम निर्माण भएका छन् । तर, जे जस्तो गीत भए तापनि त्यसलाई प्रचारको रूपमा लिएर तयार गरियो भने त्यसले चलचित्रलाई फाइदा नै पुग्छ । – अर्जुन पोखरेल
पुर्नेन्दु झा ले पनि चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुने बताउनुभयो। गीतसङ्गीतकै कारण आम दर्शकले चलचित्रको बारेमा जानकारी पाउने गरेको उहाँको भनाइ छ ।
चलचित्रको प्रचारप्रसार गीतमार्फत सुरु हुने प्रचलन छ । यसले पहिलो प्रभाव पार्छ। त्यसपछि अन्य श्रव्यदृश्य सामग्री सार्वजनिक गर्ने गरेका छौँ ।
निर्देशक झाले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’ को गीतको लागि होलीको माहोल सिर्जना गरेको जानकारी दिनुभयो ।
समग्रमा, गीतसङ्गीत लोकप्रिय नभएका चलचित्रहरू प्रायः असफल हुने, केही थोरै चलचित्रमा मात्र गीतसङ्गीतको आवश्यकता नपर्ने स्थिति रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया