
सम्पादकीय :- हरि तिमल्सिना
ललितपुर – नेपालमा प्रजातन्त्र कुनै सहज राजनीतिक परिवर्तन थिएन । यो निरङ्कुश शासनविरुद्ध जनताको सामूहिक विद्रोह र अपार बलिदानको परिणाम हो । राणा शासनदेखि पञ्चायती व्यवस्थासम्म आइपुग्दा नेपाली जनताले कारागार, निर्वासन र मृत्युसम्मको मूल्य चुकाएका छन्। यही त्याग र सङ्घर्षको जगमा आजको प्रजातान्त्रिक व्यवस्था उभिएको छ ।
तर विडम्बना के छ भने, प्रजातन्त्र स्थापनाको उत्सव लामो समय टिक्न सकेन । व्यवस्था फेरियो, शासन गर्ने अनुहार फेरिए, तर शासन गर्ने शैली र मानसिकता उही रहिरह्यो । जनताको अधिकार सुनिश्चित गर्ने भनिएको प्रजातन्त्र क्रमशः सीमित राजनीतिक वर्गको शक्ति संरक्षणको साधन बन्दै गएको छ ।
आज नेपालमा चुनाव हुन्छ, सरकार बन्छ, संसद् चल्छ । कागजमा हेर्दा सबै प्रजातान्त्रिक मापदण्ड पूरा भएका देखिन्छन् । तर व्यवहारमा जनताको सहभागिता मतदानको दिनसम्म मात्र सीमित छ । पाँच वर्षमा एकपटक मत हाल्ने अधिकारलाई नै पूर्ण प्रजातन्त्र ठान्ने प्रवृत्ति बढ्दै गएको छ ।
भ्रष्टाचार नियन्त्रण, सुशासन र उत्तरदायित्वका नारा सत्तामा पुग्ने भर्याङ बनेका छन् । तर सत्तामा पुगेपछि ती नारा बिस्तारै हराउँदै जान्छन् । जनताको भरोसा जितेर आएका प्रतिनिधिहरू जनताबाट टाढिँदै जानु नै प्रजातन्त्रको सबैभन्दा ठूलो विफलता हो । प्रजातन्त्रले बोल्ने स्वतन्त्रता त दियो, तर सुन्ने संस्कार विकास गर्न सकेन। प्रश्न गर्न पाइन्छ, तर जवाफ पाउन गाह्रो छ । आलोचना गर्न पाइन्छ, तर सुधार देखिँदैन। अधिकारको चर्चा धेरै छ, तर कर्तव्य र नैतिकताको अभ्यास कमजोर बन्दै गएको छ ।
सत्य के हो भने नेपालमा प्रजातन्त्र आन्दोलनमा सफल भयो, तर शासनमा अझै असफलताको परीक्षणमा छ । जबसम्म प्रजातन्त्र जनताको जीवनस्तरसँग जोडिँदैन, जबसम्म सत्ता सेवाको माध्यम बन्दैन्, तबसम्म प्रजातन्त्र संविधानका पानामै सीमित रहनेछ ।
इतिहासले स्पष्ट चेतावनी दिइरहेको छ – जनताको बलिदानबाट जन्मिएको व्यवस्था जनताकै अपेक्षा पूरा गर्न असफल भयो भने, त्यो व्यवस्था दीर्घकालीन हुन सक्दैन। प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज आत्मसमीक्षाको घडी आएको छ ।
गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु बनेका छन् । विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमै के दियो भन्ने गम्भीर समीक्षा आवश्यक छ । अधिकार मात्र खोज्ने, तर कर्तव्यबाट पन्छिने प्रवृत्ति मौलाउँदै गएको छ । एक नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य नगरी प्रजातन्त्र सबल हुन सक्दैन। प्रजातन्त्रको मर्म जोगाउन अब नयाँ आन्दोलन होइन, इमानदार अभ्यास, जवाफदेही नेतृत्व र सचेत नागरिक अपरिहार्य छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया