ललितपुर - ललितपुर – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले सबैलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धितर्फ अघि बढ्न नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले आजको दिन निरंकुश शासनविरुद्धको सङ्घर्षले विजय हासिल गरेको ऐतिहासिक दिन भएको उल्लेख गर्नुभयो । साथै, प्रजातन्त्र दिवसले लोकतन्त्र प्राप्तिका लागि नेपाली जनताले गरेको लामो सङ्घर्ष, त्याग र बलिदानको स्मरण गराउने बताउनुभयो ।
उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ, “जनताको एकताबद्ध शक्तिले लोकतन्त्र, मानवअधिकार र राजनीतिक स्वतन्त्रता स्थापना गर्न सकिन्छ। लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्था नभई व्यवहार र संस्कारका रूपमा आत्मसात् गर्दै यसको संरक्षण र सुदृढीकरणका लागि निरन्तर प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।
पूर्व राष्ट्रपति भण्डारीले संविधानले प्रत्याभूत गरेका अधिकार र दायित्वको सन्तुलित प्रयोगमार्फत लोकतान्त्रिक अभ्यास सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, विशेष राजनीतिक परिस्थितिमा फागुन २१ गते हुने आम निर्वाचनलाई निष्पक्ष, शान्त र विश्वसनीय बनाउन सबैको साझा दायित्व रहेको उल्लेख गर्नुभयो ।

बिजनेस पाटी