ललितपुर - ललितपुर – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइसकिएको भन्दै मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदानमा सहभागी हुन आह्वान गर्नुभएको छ ।
आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा व्यवस्थामै निर्वाचन सम्पन्न हुने बताउँदै सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा तोकिएकै मितिमा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
बैठकमा तीनवटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले सबै सुरक्षाका प्रबन्ध मिलाउँदै गएको तथा जिल्लागत सुरक्षा रणनीति क्रमिक रूपमा कार्यान्वयनमा लगिएको जानकारी गराएका थिए ।
गृहमन्त्रीको सचिवालयका अनुसार, बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारीबारे विस्तृत छलफल भएको थियो । साथै, गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, सातै प्रदेशका प्रमुख सचिव तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग प्रदेश र जिल्लागत सुरक्षा रणनीति तथा निर्वाचन तयारीबारे जानकारी लिनुभएको थियो ।

बिजनेस पाटी