ललितपुर - ललितपुर – रूसको साइबेरियास्थित बैकाल तालको हिउँमा शुक्रबार एक पर्यटक बस खस्दा सात चिनियाँ पर्यटकको मृत्यु भएको छ ।
रूसको विपद् व्यवस्थापन मन्त्रालयअन्तर्गतको क्षेत्रीय शाखाका अनुसार बस तीन मिटर चौडा हिउँको चिरामा खसेर डुबेको थियो। उद्धारकर्ताहरूले पानीमुनि क्यामेराको प्रयोग गरी सात जनाको शव फेला पारेका छन् ।
इर्कुत्स्क क्षेत्रका गभर्नर इगोर कोब्जेभले दुर्घटनामा परेका व्यक्ति चिनियाँ नागरिक रहेको र चिनियाँ महावाणिज्य दूतावासलाई जानकारी गराइएको बताएका छन् । एक यात्रु भने बस डुब्नुअघि उम्कन सफल भएको जनाइएको छ । बस सतहबाट १८ मिटर तल पानीमा फेला परेको थियो ।
विश्वकै सबैभन्दा गहिरो ताल मानिने बैकाल ताल जाडोयाममा जम्ने भएकाले पर्यटकका लागि आकर्षक गन्तव्य हो । अधिकारीहरूले तोकिएका हिम सडकबाहेक अन्यत्र सवारी चलाउन निषेध गरेका छन् र घटनाबारे थप छानबिन सुरु गरिएको छ ।

बिजनेस पाटी