
ललितपुर - ललितपुर – निर्वाचन आयोग नेपालले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी नहुन अनुरोध गरेको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको उजुरी तथा गुनासो प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण गरिएको जनाइएको छ । साथै, जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत र निर्वाचन कार्यालयमार्फत आवश्यक अनुगमन गर्न अनुरोध गरिएको छ ।
आयोगले स्मरण गराएको छ कि निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आचारसंहिता, २०८२ लागू भएको छ र यसको पूर्ण पालनाको दायित्व सबै राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षको हो ।
आचारसंहिताको दफा ५ को खण्ड (क) अनुसार ‘स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने‘ व्यवस्था छ । त्यस्तै, खण्ड (ख) ले त्यस्तो प्रचारप्रसारको क्रममा सरकारी स्रोत र साधन प्रयोग गर्न नहुने व्यवस्था गरेको छ ।
आयोगले सबै स्थानीय तहका जनप्रतिनिधिलाई पदको मर्यादा, तटस्थता तथा कानुनी दायित्वलाई मनन गर्दै आचारसंहिता विपरीत कुनै पनि प्रचारप्रसार गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनै स्थानीय कार्यपालिकाका पदाधिकारीले आचारसंहिता, २०८२ प्रतिकूल हुनेगरी प्रचारप्रसारमा संलग्न भए ऐ. आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुनेछ ।‘

बिजनेस पाटी