ललितपुर – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ । पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।
कर्फ्यु क्षेत्रको सीमा यसप्रकार तोकिएको छ- पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट । यी चार किल्लाभित्र कसैले आवतजावत गर्न, कुनै पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउलगायत गतिविधि गर्न रोक लगाइएको छ ।
अत्यावश्यक सेवाका सवारी साधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी, परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवार गाडी र मानव अधिकार तथा कूटनीतिक नियोगका गाडीहरूलाई सञ्चालन अनुमति दिइएको छ । साथै हवाई टिकटको आधारमा यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया