२०८२ चैत्र २१ | Apr 04, 2026

झापा ५ लक्षित बालेनको वाचा पत्र : विकासका योजना सहित सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
1k views

ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाहले दमकलाई पूर्वको आईटी हब बनाउने वाचा गरेका छन् । सोमबार सार्वजनिक गरिएको निर्वाचन क्षेत्र लक्षित वाचापत्रमा सूचना प्रविधि र आधुनिक विकासलाई उच्च प्राथमिकता दिइएको छ ।

वाचापत्रमा दमकलाई पूर्वी नेपालको सूचना प्रविधि केन्द्र (आईटी हब) बनाउने, विद्यालयहरूमा स्मार्ट कक्षा सञ्चालन गर्ने तथा आवश्यक भौतिक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गर्ने प्रतिबद्धता छ। यसबाट स्थानीयस्तरमा प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

सुशासनअन्तर्गत अनलाइन गुनासो दर्ता प्रणाली लागू गर्ने र सार्वजनिक विकास निर्माणको प्रगति नागरिकले हेर्न मिल्ने डिजिटल ड्यासबोर्ड सञ्चालन गर्ने योजना अघि सारिएको छ । यसले भ्रष्टाचार न्यूनीकरण र पारदर्शिता बढाउने दाबी गरिएको छ ।

साथै ग्रामीण तथा सीमावर्ती क्षेत्रमा मोबाइल र इन्टरनेट सेवा विस्तार, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा र कम्प्युटर ल्याब, त्रिभुवन पुस्तकालयलाई डिजिटल अध्ययन केन्द्र बनाउने तथा कृषि क्षेत्रमा लिफ्ट सिँचाइ र प्रविधिमा आधारित अनुदान प्रणाली लागू गर्ने योजना समेटिएको छ ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी त्यसकै आधारमा प्रचार गर्नुपर्ने व्यवस्था छ । घोषणापत्रको कार्यप्रगति प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने प्रावधान पनि रहेको छ । घोषणापत्र पार्टीको आधिकारिक माध्यमबाट सार्वजनिक गरिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया