ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी ले मकवानपुरको हुप्राचौरमा शक्ति प्रदर्शनको तयारी गरिरहँदा पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग गरी नेपाली कांग्रेस मा प्रवेश गरेका छन् ।
सभापति रवि लामिछानेले सम्बोधन गर्ने बृहत् आमसभा सुरु हुनुभन्दा केही घण्टा अघि मात्रै पराजुली ३० वर्ष बिताएको पुरानो घर नेपाली कांग्रेसमा फर्किएका हुन् । उनलाई पार्टीमा गगनकुमार थापा ले स्वागत गरेका छन् ।
पराजुलीसँगै मकवानपुर क्षेत्र नं. २ का निर्वाचन परिचालन समिति संयोजक पनि कांग्रेसमा प्रवेश गरेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट १२ हजारभन्दा बढी मत प्राप्त गरेका पराजुलीको बहिर्गमनलाई राष्ट्रिय स्वतन्त्र पार्टी को स्थानीय संगठनमा धक्का लागेको रूपमा हेरिएको छ ।
घटनाक्रम केवल मकवानपुरमा सीमित छैन । यसअघि सुमन पाण्डे लगायतका प्रभावशाली नेता-कार्यकर्ता समेत कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूले पार्टीमा आन्तरिक असन्तुष्टि र नेतृत्व शैलीप्रति प्रश्न उठाउँदै पार्टी परित्याग गरेका बताइएको छ ।
पराजुलीले भिडियो सन्देशमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी लाई ‘सीमित व्यक्तिको क्लब’ जस्तो भएको र आलोचना गर्नेहरूलाई पाखा लगाउने प्रवृत्ति हाबी भएको आरोप लगाए । “हामीले आदर्शका लागि पार्टी बनायौँ, तर व्यक्तिगत स्वार्थ र आर्थिक प्रभावले ठाउँ पायो उनले भने । यस घटनाले राष्ट्रिय स्वतन्त्र पार्टी को संगठनात्मक अवस्थामाथि राजनीतिक वृत्तमा बहस सुरु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया