ललितपुर – प्रेस काउन्सिल नेपालले स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने तथा मत प्रभावित गर्ने सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा निर्वाचनमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सो भूमिका निष्ठापूर्वक निर्वाह गर्न सञ्चारमाध्यमलाई आह्वान गरिएको छ ।
विज्ञप्तिमा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताभित्र रही सामग्री सम्प्रेषण गर्न तथा मतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न/नगराउन सबै सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरिएको छ ।
काउन्सिलले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा पत्रकार आचारसंहितासहित निर्वाचन आचारसंहिताको विशेष अनुगमन गरिरहेको जनाएको छ ।
विज्ञप्तिमा प्रेस स्वतन्त्रताको नाममा प्रेषित सामग्रीले कसैलाई लाभहानी पुग्न सक्ने भएकाले सञ्चारमाध्यम र पत्रकारहरू थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया