
ललितपुर - ललितपुर – निर्वाचन आयोग नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह तथा संस्थाबारे पुनः स्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक हुनुका साथै उल्लेख्य उजुरी परेपछि आयोगले सचेत गराएको हो। प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ ।
आयोगका अनुसार नेपाल सरकार र प्रदेश सरकारका मन्त्री, सरकारी तथा अर्धसरकारी निकाय, स्थानीय कार्यपालिका र तिनका सदस्य, सङ्घ–प्रदेश–स्थानीय तहका कर्मचारीलाई पूर्ण रूपमा आचारसंहिता लागू हुन्छ ।
त्यस्तै, सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा तिनका शिक्षक–कर्मचारी पनि आचारसंहिताको दायरामा पर्ने आयोगले जनाएको छ ।
राजनीतिक दल, भ्रातृ सङ्गठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई पनि आचारसंहिता अनिवार्य रूपमा लागू हुने स्पष्ट गरिएको छ ।
निजी क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्र, वस्तु तथा सेवा प्रदायक संस्था, निजी तथा गैरसरकारी संस्था र तिनका पदाधिकारी–कर्मचारी पनि पूर्ण रूपमा आचारसंहिताको दायरामा छन् ।
यसैगरी संवैधानिक निकाय, सुरक्षा निकाय, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समिति तथा अनुगमनकर्तालाई पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
मतदाता, पर्यवेक्षण संस्था, विकास साझेदार, सरकारी वा अर्धसरकारी परियोजना तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था र तिनका कर्मचारीसमेत आचारसंहिताको दायरामा पर्ने आयोगको भनाइ छ ।

बिजनेस पाटी