
ललितपुर - ललितपुर – प्रेस काउन्सिल नेपालले निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न आग्रह गरेको छ ।
काउन्सिलले कुनै सञ्चारमाध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमका ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ शैलीका सामग्री प्रसारण भएकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
‘यो उम्मेदवारले जित्नेछन्’, ‘यो उम्मेदवार त्योभन्दा धेरै अगाडि’, ‘नयाँतिर आकर्षित’, ‘यसको लहर छ, यसको छैन’, ‘डेन्जर जोनमा’ जस्ता सामग्रीले नागरिकको मनोभावनामा असर पार्ने र आममतदाता दिग्भ्रमित हुने उल्लेख गरिएको छ ।
काउन्सिलले भन्यो कि त्यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्छन् र आचारसंहिता प्रतिकूल देखिन्छन्, र यस्ता सामग्रीलाई नोटिसमा राखिएको छ ।
प्रेस स्वतन्त्रताको नाममा प्रसारित सामग्रीले कसैलाई लाभ/हानि पुग्नसक्ने हुनसक्ने भएकाले तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने कुरामा काउन्सिलले सचेत गराएको छ ।
निर्वाचन सफल बनाउन सञ्चार जगतको विशेष भूमिका हुने भएकाले स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न काउन्सिलले आग्रह गरेको छ ।
आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न, स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य नगर्न र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न काउन्सिलले ध्यानाकर्षण गराएको छ ।

बिजनेस पाटी