ललितपुर – चीनले ताइवान विषयलाई लिएर बढेको कूटनीतिक तनावबीच जापानका ४० कम्पनीमाथि कडा निर्यात नियन्त्रण घोषणा गरेको छ । वाणिज्य मन्त्रालयले २० कम्पनीलाई प्रत्यक्ष निर्यात नियन्त्रण सूचीमा राख्दै दोहोरो प्रयोगमा आउन सक्ने सामग्रीको कारोबारमा प्रतिबन्ध लगाएको छ भने थप २० कम्पनीलाई निगरानी सूचीमा समावेश गरेको छ ।
सूचीमा रहेका कम्पनीहरूमा मित्सुबिशी हेवी इन्डस्ट्रिज, कावासाकी हेभी इन्डस्ट्रिज र फुजिट्सुका डिभिजनहरू छन्। निगरानी सूचीमा सुबारू कर्पोरेसन, मित्सुबिशी मटेरियल्स कर्पोरेसन लगायत संस्थाहरू परेका छन् ।
निर्यातकर्ताले ती कम्पनीसँग कारोबार गर्न व्यक्तिगत अनुमति लिनुपर्ने र जापानी सेनाले सामग्री प्रयोग नगर्ने लिखित प्रतिबद्धता पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । चीनले यो कदमलाई जापानको सैन्यीकरणप्रति चासो व्यक्त गर्ने वैध उपाय भन्दै सामान्य व्यापारमा असर नपर्ने दाबी गरेको छ ।
यो निर्णय ताइवानको हैसियतसम्बन्धी विवाद र कूटनीतिक तनाव पृष्ठभूमिमा आएको हो । चीनले ताइवानलाई आफ्नो भू–क्षेत्रको हिस्सा मान्दै आएको छ, जबकि जापानसहित बाह्य पक्षका अभिव्यक्तिप्रति बेइजिङ संवेदनशील रहँदै आएको छ ।
क्षेत्रीय विश्लेषकका अनुसार यो कदमले आपूर्ति शृङ्खला र क्षेत्रीय शक्ति सन्तुलनमा प्रभाव पार्न सक्ने सम्भावना छ, यद्यपि चीनले सामान्य आर्थिक सम्बन्धमा असर नपर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया