ललितपुर - ललितपुर – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले आफ्नो घुँडाको एसीएल शल्यक्रियाका लागि आवश्यक उपचार खर्च जुटेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले देश–विदेशबाट प्राप्त आर्थिक सहयोगप्रति सबै समर्थकलाई धन्यवाद दिँदै पछिल्लो २४ घण्टामा पाएको साथले आफूलाई थप बलियो बनाएको उल्लेख गर्नुभएको छ ।
कप्तान भण्डारीले सोमबार उपचारका लागि सहयोगको अपिल गर्नुभएको थियो, जसपछि २४ घण्टाभित्र आवश्यक रकम जुटेको हो । जानकारीअनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) सहयोग संकलन भइसकेको छ । यो रकमले उपचारसँगै कतारमा बसाइ र यातायात खर्चसमेत धान्ने देखिएपछि उहाँले अब थप सहयोग नपठाउन आग्रह गर्नुभएको छ ।
उहाँ आबद्ध क्लबले पनि बिमा रकममार्फत उपचारमा सहयोग गरिरहेको बताइएको छ। शल्यक्रियाको मिति छिट्टै तय हुने र उपचार प्रक्रिया अघि बढ्नेमा भण्डारी आशावादी हुनुहुन्छ ।
चोटका कारण दुई महिनादेखि मैदान बाहिर रहनुभएकी उहाँले मानसिक रूपमा समेत थकित भएको उल्लेख गर्दै समर्थकको माया र साथले पुनः मैदानमा फर्किने साहस दिएको बताउनुभयो । अझ मजबुत भएर राष्ट्रिय जर्सी लगाएर देशका लागि खेल्नेछु, उहाँको प्रतिबद्धता छ । उपचार सफल भई उहाँ छिट्टै मैदानमा फर्किन सकून् भन्ने शुभेच्छा ।

बिजनेस पाटी